सिन्धुपाल्चोक | जुगल गाउँपालिकामा आयोजना गरिएको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने प्रेरक मूल नारासहित वडा नं. १ स्थित सेलाङ माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता उत्साहपूर्ण वातावरणमा प्रारम्भ भएको हो । यस पटक ४२ विधाका खेलमा १० वटा विद्यालयले सहभागिता जनाएका छन्, जसले विद्यालय–स्तरको खेलकुदलाई थप सशक्त बनाएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख रेशम स्याङबोले खेलकुदको विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका रहने बताए । उनले खेलकुद केवल प्रतिस्पर्धामात्र नभई आत्मविश्वास, अनुशासन र क्षमताको विकास गर्ने माध्यम भएको उल्लेख गर्दै उत्कृष्ट खेलाडीहरूको अभिलेख गाउँपालिकाले सुरक्षित रूपमा राख्ने तथा खेल क्षेत्रमा लागिपर्न चाहने विद्यार्थीलाइ आगामी दिनमा प्राथमिकताका साथ आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिए ।

प्रतियोगिताको आयोजना जुगल गाउँपालिकाले गरेको हो भने सम्पूर्ण व्यवस्थापन सेलाङ माध्यमिक विद्यालयले सम्हालेको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका उपप्रमुख हिमाल श्रेष्ठ, वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सेलाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक फिरोज सिलवालका अनुसार विद्यार्थीहरूको उत्साह हेर्दा प्रतियोगिता अझै सार्थक र प्रभावकारी हुने अपेक्षा गरिएको छ । दुई दिनसम्म चल्ने यस प्रतिस्पर्धाले स्थानीय विद्यालयहरू बीच स्वस्थ प्रतिस्पर्धा र खेलकुदप्रतिको रुचि बढाउने विश्वास गरिएको छ ।
बिबिसि २१ बाट
प्रतिक्रिया दिनुहोस्