२०८२ मंसिर १७

स्मृतिमा अखिलेश

अखिलेश्वर लाल दासको मृत्यु २०७९ साल कार्तिक ३० गते (नोभेम्बर १६, २०२२) भएको आज तीन वर्ष पुग्यो । २०८० कार्तिक ३० मा अखिलेशको गृहनगर विराटनगरमा पहिलो स्मृतिसभा, २०८१ कार्तिक ३० मा नेपालको राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दोस्रो स्मृतिसभा र आज २०८२ कार्तिक ३० गते अखिलेशको कर्मभूमि दमक क्याम्पसमा तेस्रो स्मृतिसभा सम्पन्न भएको छ । अखिलेशको स्मृतिमा जसले यो कार्यक्रमको निरन्तरता दिनुभएको छ वहाँहरूको यो कार्यलाई सराहनीय मान्नु पर्छ । दोस्रो स्मृतिसभा प्रज्ञा प्रतिष्ठानमा हुँदा मलाई त्यही दिन बिहान मित्र गिरिराजमणि पोखरेलले कार्यक्रममा सहभागी बन्न आउन सक्नुहुन्छ कि भनेर फोन गर्नु भएको थियो मैले स्वास्थ्यका कारण असमर्थता जनाएँ । स्वास्थ्यका कारण वितेको ९ वर्षदेखि मैले कुनै पनि सभा, समारोह, सेमिनार, गोष्ठीमा सहभागिता जनाएको छैन तर पनि कतिपय कार्यक्रममा म भावनात्मक रूपले जोडिन्छु र सामाजिक सञ्जालमा मेरा अभिमतहरू जारी गरिरहेको छु । अखिलेशको कृतिशेष भएको दिन म स्तब्ध बने र पहिला हाम्रा विराटनगरमा एमए पढ्दाका साथी रुद्र सुवालसँग फोनमा कुरा गर्ने प्रयास गरें तर मेरो गला अबरोध भएर मैले फोन राखें । सुवालजीले मेरो अखिलेशसँगको सामिप्यता बुझ्नुभएको थियो । २०७९ कार्तिक २२ गते विसन्चो हुँदा विराट नर्सिङ होममा भर्ना भएर सन्चो भइ घर फर्केपछि कार्तिक २७ गते मेरो वहाँसँग फोनमा कुरा भएको थियो तर तीनदिनपछि परिस्थिति बेग्लै बन्यो । त्यही दिन मैले अंगे्रजीमा एउटा सानो शोक श्रद्धाञ्जलि स्टाटस पोस्ट गरेको थिएँ । आज त्यही पोस्ट र अखिलेशसँग मेरा दुई सामूहिक फोटा पनि स्क्रिनसर्ट गरेर राखेको छु ।
महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगर अर्थशास्त्र मूल विषय लिएका हाम्रो सिंगो कक्षामा विराटनगरका रैथाने स्थानीय सत्यनारायण स्कुलबाट आएका श्याम वर्णका एउटा फरासिला विद्यार्थी थिए अखिलेश्वर लाल दास । हामी अखिलेश भन्थ्यौं । हँसिलो, प्रश्न गरिरहने जिज्ञासु, अखिलेश । प्रवीणता प्रमाणपत्र पढ्दा म र अखिलेश निकै नजिक भइसकेका थियौं । अखिलेश र मैलै विराटनगरमा प्रवीणता प्रमाणपत्र २०३३–३४, स्नातक २०३५–३७ र स्नातकोत्तर २०३८–४० लगातार सँगै पढ्यौं । २०३६ मा अखिल पाँचौ र छैठौं सम्मेलनको चहलपहल सुरु भएको थियो । अखिल छैठौं सम्मेलनका संयोजक पदम गौतम असारमा विराटनगर आउनु भएको थियो । वहाँले विद्यार्थी साथीहरूसँग भेट्ने अनुरोधपछि हामी २०–२५ जना ममोआ क्याम्पसको नहरपारि बखरीमा रहेको रामलाल गोल्छा होस्टलमा जम्मा भयौं र छलफल गर्यौं । धेरै लामो छलफल भयो । बेलुका मेरो कोठामा म, वसन्तमान सिंह अधिकारी, अखिलेश, माधव दाहाल आदि बसेर हामी अखिल छैठौंमा आवद्ध हुने निर्णय गर्यौं र हाम्रो प्रतिवद्ध विद्यार्थी राजनीति सुरु भयो । २०३६ सालको विद्यार्थी आन्दोलनको सफलताले देशमा जनमत संग्रको घोषणा भएको थियो । राजनीतिक पार्टीहरू आफ्नो संगठन निर्माणमा तीव्रता दिन प्रतिस्पर्धामा थिए । हामी विराटनगरमा विद्यार्थी संगठनमा अखिल छैठौंमा आवद्ध थियौं । विद्यार्थी नेतृत्वको एउटा पार्टी संगठन बनाउने निर्णय भए अनुसार पटकपटक जोगवनी र फारबीसगञ्जका धर्मशालाहरूमा हाम्रो मोहनविक्रम सिंह, निर्मल लामा, सीपी गजुरेल, बाचस्पति देवकोटा, ऋषि देवकोटा, जयगोविन्द साहसँग छलफल चलेको थियो । सुरुमा एउटा सानो पार्टी संगठन बनाउने निर्णय भए अनुसार २०३६ सालको असोजमा हामी तीन जनाको विराटनगरमा चौथो महाधिवेशनको पहिलो पार्टी कमिटी बन्यो जसमा म, अखिलेश र गुणराज पोखरेल सदस्य थियौं । यो पार्टीको निर्माण ममोआ क्याम्पस अगाडि रहेको रमेश खतिवडाको घर जहाँ मेरो डेरा थियो त्यही घरमा भएको थियो । हामीले चौथो महाधिवेशनको पार्टी सदस्यता लिँदा चन्द्र प्रकाश (सीपी) गजुरेल प्रस्तावक र लीलामणि पोखरेलको समर्थकको रूपमा उपस्थिति थियो । अब म र अखिलेश साथीबाट कमरेड भएका थियौं । त्यसको एकवर्षपछि नै पार्टी संगठन बढेर दर्जन पुगेका थियौं ।
देशमा जनयुद्धको उभार थियो । कृष्ण सेन जनादेश पत्रिकाको सम्पादक । म र कृष्ण बेलबासे आफ्नै नामले लेख नियमित जस्तो लैख्थ्यौं । विरलै मानिसहरूले उठाउने जोखिम हामीहरूले जानेर नजानेर उठाएका थियौं । त्यति मात्र होइन काठमाडौँ उपत्यकाका सबैजसो क्याम्पसमा हामीले संगठन निमार्ण गरेका थियौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको निर्माणमा २०६२–६३ देखि संयोजकको रूपमा काम गरेको मेरो देशभरिका धेरै प्राध्यापकहरूसँग परिचय थियो । २०६६ सालमा पाटन संयुक्त क्याम्पसमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको पहिलो सम्मेलन भयो । राजन प्रसाद पोखरेल अध्यक्ष र अखिलेश्वर लाल दास उपाध्यक्षमा चयन हुनुभयो । मोफसल दमक क्याम्पसमा पढाउने अखिलेशलाई संगठनमा ल्याउने मेरो पुरानो परिचय मैले सदुपयोग गरेको थिएँ । सुरुमा अखिलेशलाई चिन्ने थोरै प्राध्यापकहरू थिए । राजनको अखिलेशसँग विराटनगर पढ्दादेखि नै पुरानो परिचय थियो । राजनको प्रगतिशील प्राध्यापक संगठनमा महासचिवको आलो अनुभव पनि थियो । दुबैजनाको केमेस्ट्री पनि मिल्ने । राजनले अखिलेशलाई सिनियरको रूपमा आदर गरेको सबैले देखेबुझेकै हो । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष राजनले अध्ययनका लागि निजी कारणले अध्यक्षता छाडेपछि अखिलेश कार्यवाहक अध्यक्ष र पछि संयोजक हुनु भयो । अखिलेशको प्राध्यापक संगठनमा १४ वर्ष नेतृत्व रह्यो । २०६६ देखि २०७९ साल मृत्युसम्म अखिलेशले प्राध्यापक संगठनको निष्कलङ्क नेतृत्व गर्नु भयो ।
अखिलेशको चिया पसलमा चिया खाएर बहस गर्ने हबी नै थियो । वहाँ चिया खाएर बहस गर्न खुब रौसिनु हुन्थ्यो । विराटनगर विद्यार्थी रहँदा पनि क्याम्पसको क्यान्टिन, रोडशेषको सुरेशको चिया पसल, टाटा मिस्टान भण्डार होस् कि काली मिस्टान अखिलेश चिया बहसमा अक्सर भेटिने व्यक्ति हो । चिया पसलमै वहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय विषयहरूमा खुब बहस गर्नुहुन्थ्यो । दमकमा पनि फुर्सदको बेला वहाँ चिया बहसमा बहकिनु हुने आफै भन्नु हुन्थ्यो । अखिलेश नेपालको जनबुद्धिजीवी हुनुहुन्थ्यो । अखिलेशले आफ्नो जीवनमा के पाउनु भयो के गुमाउनु भयो मूलकुरा यो होइन अखिलेशले हाम्रो समाजलाई के योगदान गर्नु भयो र कस्तो जीवन जिउनु भयो यसको मूल्याङ्कन हुनुपर्छ । अखिलेशको मृत्युको छ महिनापछि वहाँकी विद्यार्थी र पछिकी सहकर्मी राधिका ओझाले अखिलेशको स्मृति ग्रन्थ निकाल्ने भनेर मलाई पनि रचनाका लागि अनुरोध पठाउनु भएको थियो । अखिलेशबारे मैले नलेख्ने कुरै भएन हुन्छ भने । पहिलो स्मृतिसभामै स्मृतिग्रन्थ आउने आशा थियो । दोस्रो स्मृतिसभा प्रज्ञा प्रतिष्ठानमा ग्रन्थ विमोचित भयो तर एकवर्षसम्म सार्वजनिक रूपमा उपलब्ध भएन । आज तेस्रो वर्ष सामाजिक सञ्जालमा सो स्मृतिग्रन्थ देखिएको छ । स्मृतिग्रन्थमा ९० जनाजतिको संस्मरणले अखिलेशका विभिन्न पाटाहरू उजागर हुने नै छन् । अखिलेशको अनुपस्थितिमा वहाँकी जीवनसाथी अर्चना, छोरा अंकित, छोरीहरू आकृति र श्रुति मात्र होइन अखिलेशले जीवनभरिको कमाइले बनाएको विराटनगरको घर पनि अभिभावक विहीन भएका छन् । अखिलेश र म आवद्ध भएको चौथो महाधिवेशन धेरै चोइटामा चिरियो । नेपालको कम्युनिस्ट आन्दोलन जेनजी विध्वंसपछि मैथिली मुहावरा जिएछी कि मरैछी, हुक्कुर–हुक्कुर करैछी जस्तो भएको छ । त्यसैको अंशमा हामी आवद्ध थिएछ । सबै प्रतिकूल परिस्थितिसँग संघर्ष गरेको अखिलेशका लागि मैले मेरै सानो कविताबाट श्रद्धाञ्जलि दिन चाहेँ ।
साथीहरूले उसको छाती भित्र
मुटु नै छैन भन्थे
जब उसको हृदयघातबाट मृत्यु भयो
त्यो आरोपको पनि अन्त्य भयो ।

प्रतिक्रिया दिनुहोस्