२०८२ कार्तिक २३

‘द बर्डन अफ ब्रेथ’को विमोचन

काठमाडौँ — अनुष्का सिलवालको कवितासंग्रह ‘द बर्डन अफ ब्रेथ’ को लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा प्राध्यापक गोविन्द भट्टराई, प्रकाशक ‘मण्डला बुक प्वाइन्ट’ का माधवलाल महर्जन र अनुष्काले संयुक्तरुपमा ‘द बर्डन अफ ब्रेथ’ को लोकार्पण गरेका हुन् ।

२४ वर्षीया अनुष्काले मनाङमा पदयात्रामा जाँदा पुस्तकको ‘आईडिया’ फुरेको बताइन् । ‘मलाई थाहा छैन, कुन घडीदेखि मैले लेख्न थालें भनेर । कलेज पढ्दासमेत लेख्ने रुचि जागेको थिएन । तर, जब कलेज सकियो मैले लेख्न थालें । त्यो पनि कविता,’ उनले भनिन्, ‘खासमा आफूलाई अभिव्यक्त गर्न मैले कविताको माध्यम रोजेँ । जहाँ थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सकिन्छ । यो पुस्तकले मलाई धेरै दिएको छ ।’ कार्यक्रममा अनुष्काले पुस्तकमा समेटिएको एक कविता पनि वाचन गरिन् ।

पदयात्राका क्रममा सास फेर्न संघर्ष गर्दागर्दै पुस्तकको नाम सोचेको उनले खुलाइन् । ‘ट्रेकिङमा उकालो चढ्दै थिएँ तब मेरो श्वास यति छिटो चल्यो । त्यतिबेला सास फेर्न एकदम संघर्ष गर्नुपर्‍यो,’ उनले भनिन्, ‘जब म डाँडाको टुप्पोमा पुगें । त्यहाँबाट देखिने दृश्य निकै फरक थियो । एकदमै फरक अनुभव भयो । त्यही बेला पुस्तकको नाम फुरेको हो ।’

कार्यक्रममा प्राध्यापक भट्टराई, सहप्राध्यापक महेश पौडेल, सुजना घिमिरे र गौरी प्रधानले पुस्तकमाथि टिप्पणी र समीक्षा गरेका थिए ।

प्रकाशक ‘मण्डला बुक प्वाइन्ट’ महर्जनले साहित्यप्रतिको अनुष्काको लगाव देखेर उनको कवितासंग्रह प्रकाशन गरिएको जनाए । ‘सुन्दर शैलीमा कवितालाई पुस्तकमा ढालेका कारण म अनुष्कालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्