२०८२ कार्तिक २१

गौरतीमा फोहोरको थुप्रोबाट उठ्यो सन्देश — स्वच्छता नै हो संस्कार

gaurati, cleaning program

सिन्धुपाल्चोक । “स्वच्छ गौरती, हरित वातावरण: हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित गौरती परिसर सरसफाइ तथा वातावरण संरक्षण कार्यक्रम कार्तिक २० गते गौरती मन्दिर परिसरमा सम्पन्न भएको छ ।

कार्यक्रम कञ्चन स्मृति ग्राम विकास पुस्तकालयको आयोजनामा र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेष्ट ) को सहकार्यमा सम्पन्न भएको हो । बिहान करिब १२ बजे सुरु भएको कार्यक्रममा भक्तजनहरूको भीडपछि मन्दिर परिसर र वरिपरिका ठाउँहरूमा जम्मा भएको फोहोर व्यवस्थापन गरिएको थियो ।

कार्यक्रमका क्रममा मन्दिर परिसरमा रहेका बोटल, प्लास्टिक, कागज लगायतका फोहोरहरू संकलन गरी व्यवस्थापन गरिएको थियो । सहभागीहरूले फोहोर व्यवस्थापनमा सक्रिय योगदान दिँदै स्वच्छ र हरित वातावरण निर्माणमा समाजले लिनुपर्ने जिम्मेवारीको सन्देश समेत प्रवाह गरेका छन् ।

यस अवसरमा रेष्टका विद्यार्थीहरूले निस्वार्थ भावनाका साथ सरसफाइ अभियानमा सहभागिता जनाएका थिए । कञ्चन स्मृति ग्राम विकास पुस्तकालयका अध्यक्ष सुरेश कसजूका अनुसार यस कार्यक्रमले गौरती मन्दिर क्षेत्रको पवित्रता, सौन्दर्य र वातावरणीय सन्तुलन जोगाउन सहयोग पुर्‍याउने र विद्यार्थीहरूलाई वातावरण र समाज प्रति उत्तरदायी बनाउने उद्देश लिएको छ ।

स्थानीय बासिन्दा र भक्तजनहरू पनि मेलाको भोलिपल्ट नै गोैरती परिसरमा सरसफाइ भएको देख्दा खुसी छन् । केही भक्तजनहरूले विद्यार्थीहरूलाई सरसफाइमा सहयोग गर्नुको साथै पानी र प्रसाद दिदै सामाजिक कार्यमा प्रोत्साहित गरेका थिए ।

कार्यक्रममा रेष्टमा आबद्ध विद्यार्थीहरू, सञ्चारकर्मी लगायत स्वयंसेवकगरि जम्मा २० जनाको सहभागिता रहेको थियो । आयोजकहरूले यस्ता अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा सरसफाइ मात्र नभई समाज परिवर्तनको अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्