२०८२ कार्तिक १८

माओवादी, समाजवादीसहित ८ घटकले गरे एकताको सहमतिमा हस्ताक्षर, चुनाव चिह्न पाँचकुने तारा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायतका आठ वटा कम्युनिस्ट घटकबीच पार्टी एकताको औपचारिक सहमति भएको छ।

आइतबार हस्ताक्षरित सहमति पत्रमा पार्टीको नाम टुंगो लाग्न बाँकी रहे पनि चुनाव चिह्न भने पाँचकुने तारा राख्ने निर्णय गरिएको छ। पूँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक-सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता रहेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी-समाजवादी) र नेकपा (साम्यवादी) का बीचमा पार्टी एकता तथा कम्युनिस्ट एकीकरणको प्रक्रिया अघि बढाउन सहमति भएको हो।

सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहने, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने तथा तात्कालिक कार्यनीति पूँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने उल्लेख छ। आन्दोलन मूलतः शान्तिपूर्ण रहने तर परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यक सबै मोर्चाहरू आन्दोलनको मोर्चा बन्ने सहमति छ। एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा २०८२ कार्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिने र सोही सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणापत्र, अन्तरिम विधान पारित तथा केन्द्रीय समिति गठन गरिने छ। आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने प्रतिबद्धता पनि सहमति पत्रमा समेटिएको छ।

केन्द्रीय समिति सबै घटकका साविक केन्द्रीय समितिको समायोजन गरी आपसी सहमतिमा गठन गरिने र सोभित्र केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय तथा कार्य संयोजन समिति रहने व्यवस्था छ। केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म संयोजक र सहसंयोजक पद रहने तथा सबै तहका पार्टी समिति र जनसंगठनमा इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकहरू सम्भव भएसम्म एकता सहभागी घटकबाटै रहने व्यवस्था गरिने छ। कुनै पनि सदस्य दुई तहभन्दा माथिको समितिमा रहन नपाउने प्रावधान राखिएको छ भने पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुने उल्लेख छ। राजनीतिक प्रतिवेदन, कार्यक्रम तथा संगठनात्मक समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिने र वैचारिक-राजनीतिक मतभेद निरन्तर छलफलमार्फत समाधान गर्दै एकता महाधिवेशनबाट निष्कर्षमा पुगिने सहमति छ।

सहमति पत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ (नेकपा माओवादी केन्द्र), माधवकुमार नेपाल (नेकपा एकीकृत समाजवादी), महेन्द्रराय यादव (नेपाल समाजवादी पार्टी), राजु काकी (नेकपा समाजवादी), सुवासराज काफ्ले (जनसमाजवादी पार्टी), कर्णजित बुढाथोकी (नेकपा माओवादी-समाजवादी) र चिरञ्जीवी पुन (नेकपा) लगायतले हस्ताक्षर गरेका छन्। मिति २०८२ कार्तिक १६ मा हस्ताक्षरित यो सहमतिले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

 

पालुवान्युजबाट

प्रतिक्रिया दिनुहोस्