सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हालै निर्माण गरेको सोलार ड्रायर अहिले किसानका लागि निकै उपयोगी सिद्ध भइरहेको छ। निरन्तरको वर्षाका कारण भिजेका धान सुकाउन कठिनाइ भएपछि वडाले उक्त उपकरण प्रयोगमा ल्याउने तयारी गरेको हो ।
कृषकमुखी नवप्रवर्तनका माध्यमबाट किसानलाई राहत दिने उद्देश्यसहित वडाध्यक्ष रोशनराज गिरिको पहलमा करिब पाँच लाख रुपैयाँ लागतमा सोलार ड्रायर निर्माण गरिएको हो। वडा कार्यालयकै भवनको खाली बार्दलीमा निर्माण गरिएको उक्त उपकरणले किसानलाई समय र श्रम दुवैमा बचत गर्ने अपेक्षा गरिएको छ ।
मूलतः स्थानीय फलफूल र तरकारी — जस्तै खुर्सानी, अदुवा, अमला, लप्सी, काउली र गोलभेंडा — सुकाएर प्रशोधन गर्नका लागि बनाइएको यो सोलार ड्रायर अहिले धान सुकाउने वैकल्पिक उपायका रूपमा प्रयोगमा ल्याइँदैछ ।
वडाध्यक्ष गिरिका अनुसार, “साधन बनाउने मात्र होइन, आवश्यकता अनुसार त्यसको सही प्रयोग गर्नु नै स्थानीय सरकारको काम हो।” उनले किसानका समस्या प्रत्यक्षरूपमा बुझ्दै आफ्नै नेतृत्वमा समाधानमुखी कार्यक्रम अघि बढाइरहेका छन् ।
उक्त वडामा सोलार ड्रायरसँगै वर्षाको पानी संकलन पोखरी, मकैको ढोडबाट साइलेज उत्पादन, तथा बाँदर–बँदेल नियन्त्रणका लागि विद्युतिय घेराबारजस्ता योजनाहरू पनि सञ्चालनमा छन् । यस्ता नवप्रवर्तन र व्यवहारिक कार्यक्रमका कारण चौतारा साँगाचोकगढी–११ अहिले सिन्धुपाल्चोककै नमुना वडाको रूपमा स्थापित हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्