सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका–७, मैलचौरस्थित शहिद स्मृति आवासीय बालग्रामलाई रामज्योति फाउण्डेशनले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न सहयोग गरेको छ। यो सहयोग ज्योति फाउन्डेशन अमेरिकाको सहयोगमा रामज्योति फाउन्डेसनले गरेको हो।
सहयोग रकम रामज्योति फाउण्डेशनका संस्थापक रामचन्द्र श्रेष्ठले चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटालाई हस्तान्तरण गरेका थिए । उक्त रकम नगरप्रमुख सापकोटाले ज्ञान मन्दिर नमुना माविका प्रधानाध्यापक पुण्यप्रसाद गजुरेललाई अक्षयकोषको औपचारिक जिम्मेवारीका लागि बुझाएका थिए ।
यस सहयोगको अतिरिक्त फाउण्डेशनले बालग्राममा बसोबास गरिरहेका ३७ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । चिसो मौसम नजिकिँदै गर्दा बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै गरिएको यस सहयोगले बालग्राममा न्यानोपन र खुसी ल्याएको रामज्योति फाउन्डेसनका अध्यक्ष सुरेश कसजूले बताए ।
नगरप्रमुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकाको पहलमा सञ्चालन भइरहेको बालग्रामले आर्थिक रूपमा विपन्न, अभावग्रस्त र साहाराविहीन बालबालिकालाई शिक्षा, आवास र पारिवारिक माया प्रदान गर्दै आएको उल्लेख गरे । उनले नगरपालिका निरन्तरता बालग्राम लाई व्यवस्था बनाउने प्रयास गरिरहेको बताउदै रामज्योति फाउण्डेशनको यो सहयोग प्रशंसनीय रहेको उल्लेख गरे ।
नगर उपप्रमुख सिता थापाले अक्षयकोष स्थापनाले बालग्रामलाई दीर्घकालीन आर्थिक स्थायित्व दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, पूर्व सांसद कृष्णराज श्रेष्ठ, सामाजिक अभियन्ता, विद्यालयका शिक्षक–शिक्षिका र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्