काठमाडौं — बागमती प्रदेश सभा सदस्य युवारज दुलालले आज सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा खानेपानी मन्त्रालयका सचिवहरूसँग भेट गरी सिन्धुपाल्चोक क्षेत्र नं. २ भित्रका विद्युत् तथा सडक सञ्जालसम्बन्धी समस्या समाधानका लागि औपचारिक मागपत्र पेश गरेका छन् ।
मागपत्रमा गत असारको बाढीले क्षतिग्रस्त मेलम्ची सबस्टेसन पुनर्निर्माण गर्न, मेलम्ची, पाचपोखरी, इन्द्रावती र हेलम्बु क्षेत्रका विद्युत् आपूर्ति प्रणालीलाई मजबुत बनाउन, साथै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्य पाचपोखरीमा विद्युत् सेवा विस्तार गर्न माग गरिएको छ ।
त्यसैगरी, भौतिक पूर्वाधारतर्फ मेलम्ची–तिम्बु सडक, मेलम्ची–तिपेनी–भोताङ सडक, र मेलम्ची–दाउचेत–केउरानी–बासखर्क–बरुवा सडकमा बजेट थप गरी बहुवर्षीय ठेक्का प्रक्रिया छिटो अघि बढाउन दुलालले पहल गरेका छन् ।
प्रदेश सभा सदस्य दुलालले स्थानीय जनताको दीर्घकालीन समस्या समाधानका लागि केन्द्र र प्रदेशबीच समन्वय गरेर पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्