२०८२ कार्तिक १

पटिडाँडामा फलफूल तथा तरकारी संकलन केन्द्र स्थापना कृषि क्षेत्रलाई व्यावसायिक बनाउन अभियान सुरु

सुनिल थापा

सिन्धुपाल्चोक — सुनकोशी गाउँपालिका–६ पटिडाँडामा ‘सुनकोशी फलफूल तथा तरकारी संकलन केन्द्र’ स्थापना गरिएको छ । स्थानीय युवा सुनिल थापाले यही मिति २०८२ साल असोज २२ गतेदेखि उक्त केन्द्र सञ्चालनमा ल्याएका हुन् । २० वर्षे थापाले पहिले सवारी चालकको पेशा अंगालेका थिए । तर, गाउँमै केही गरौं भन्ने सोचका साथ उनले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै संकलन केन्द्र सञ्चालनमा ल्याएको बताएका छन् । उक्त केन्द्रमार्फत सुनकोशी र लिसंखुपाखर गाउँपालिकाका विभिन्न वडाबाट हरेक हप्ता फलफूल र तरकारी संकलन गरिनेछ । साथै गाउँमै उत्पादन हुने मकै, धान, कोदो लगायतका अन्नबालीहरू पनि संकलन गरिने जनाइएको छ । “गाउँमा उत्पादन हुने वस्तुहरू बजारसम्म पुर्याउने संयन्त्र खडा गर्नु अहिलेको आवश्यकता हो,” थापाले भने, “स्थानीय उत्पादन संकलनमार्फत गाउँका कृषकलाई सहजीकरण गर्नु नै मेरो उद्देश्य हो ।” उनले गाउँगाउँमा रहेका युवाहरुलाई पनि उद्यममा लाग्न सुझाव दिएका छन् । “उत्पादनसँग जोडिए समृद्धि हासिल हुन्छ,” थापाको भनाइ छ । थापाको यो पहलबाट गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्नबालीको उचित व्यवस्थापन हुने अपेक्षा गरिएको छ । साथै, कृषकले आफ्ना उत्पादनको उचित मूल्य पाउने र कृषि व्यवसायप्रति युवाको आकर्षण बढ्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्