२०८२ कार्तिक १

दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको नाटकीय जित

काठमाडौं । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपाललाई १ रनको जित दिलाउन ऐरीले तीन महत्वपूर्ण विकेट लिए भने उत्कृष्ट फिल्डिङ गरे ।

ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको थियो । ओभरमा एउटा छक्का निकाल्न सफल भएता पनि यूएई लक्ष्यसम्म पुग्न सकेन । पहिलो बलमा एक रन दिएका दिपेन्द्रले दोस्रो बल डट राखे । तेस्रो बलमा छक्का प्रहार गर्दै युएई जितनजिक देखियो । अब युएईलाई जितका लागि ३ बलमा ३ रनमात्र आवश्यक थियो । चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट लिदै नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो ।

चौंथो बलमा दीपेन्द्रले क्याचआउट गराए भने पाचौं र छैटौं बलमा ब्याटरहरु रनआउट भए ।

नेपाल प्रेस

प्रतिक्रिया दिनुहोस्