भरत पोखरेल
सन २०२४ र २०२५ युवाहरू विशेषगरी जेन–जी (सन १९९७–२०१२ अवधिमा जन्म भएका) १३–२९ वर्ष उमेर समूह भएका युवाहरूको विशेष वर्ष रह्यो । यी दुई वर्षमा युवाहरूले विश्वका तीन देश श्रीलंका, बंगलादेश र नेपालमा सरकार ढालिदिएका छन् भने आधीदर्जन बढी देशहरूमा सरकार हल्लाएका छन् । श्रीलंकामा दुई दसकदेखि सत्तामा रहेको राजापाक्छे शासन २०२४ मा सत्ताच्युत भयो । ऋण, मुद्रास्फीति, कुशासन विरुद्धको आन्दोलनले श्रीलंकामा सरकार ढल्यो । बंगलादेशमा जुलाई–अगस्त २०२४ मा शेख हसिनाको अवामी लिग पार्टी १५ वर्षदेखि बंगलादेशमा शासन गरिरहेको थियो शिक्षामा आरक्षणको मुख्य मुद्दामा फँस्यो र शेख हसिना वाजेद प्रधानमन्त्री पदमात्र होइन देश नै छाडेर भाग्नु पर्यो । नेपालको कथा के कहने आज ठिक एक महिनामात्र भएको सेप्टेम्बर ८–९, २०२५ (भदौ २३–२४, २०८२) को जेन–जी आन्दोलनको आगोको रापले अहिले पनि नेपाललाई पोलिरहेको छ बाँकि कथा सबै नेपालीलाई थाहै छ । सामाजिक सञ्जालमा एमाले–काँग्रेस सरकारको गठबन्धनले लाएको प्रतिबन्ध, भ्रष्टाचारको मुद्दा, नातावादको आरोपको आन्दोलनले ओली सरकारमात्र गिरेन अहिले देश नै सबै नेपालीलाई दुखेकाके छ ।
सर्बियामा अक्टोबर ५, २००० मा मिलोसेभिक सरकारका विरुद्ध एक आन्दोलनकारीले ह्विललोडर सञ्चारमन्त्रालयमा छिराउन थालेकाले त्यो आन्दोलनलाई बुलडोजर आन्दोलन भनियो र दुई दिनपछि मिलोसेभिकले राजीनामा नै गर्नुपरेको थियो । त्यही सर्बियामा नोभेम्बर २०२४ मा भ्रष्टाचार विरोधि आन्दोलनमा विश्वविद्यालयका विद्यार्थीहरू विशेषगरी जेन–जी समूह सडकमा ओर्लेको थियो । यो आन्दोलनमा १६ विद्यार्थीको मृत्यु भएको थियो । संगठित समूह नभइ स्वतस्फूर्त रूपमा उठेको सर्बियाको यो जेन–जी आन्दोलन अहिले पनि जारी छ । केन्यामा जुन २०२४ को जेन–जी आन्दोलन पाउरोटी र स्यानेटरी प्याडमा कर वृद्धिका कारण सुरु भएको थियो । जुन २५, २०२४ को आन्दोलनले राष्ट्रपति विलियम रुतोले घुँडा टेकेका थिए । केन्यामा ४० प्रतिशत जेन–जी उमेर समूहका युवाहरू गरिबीमा थिए, शिक्षामा ४.४ प्रतिशत शुल्क वृद्धि गरिएको थियो जसका विरुद्ध केन्यामा जेन–जी आन्दोलन सुरु भएको थियो । जनताका अनिवार्य आवश्यकताका वस्तुहरूमा सुविधा कटौतिका विरुद्ध अगस्त २०२५ मा सुरुभएको इन्डोनेसियाको जेन–जी आन्दोलन नेपालको आन्दोलनको उत्साहले अहिले अझ चर्किएको छ । राष्ट्रपति प्राबोवो सुबिआन्तोको सरकार ढालेरै छाड्ने अडानमा युवाहरू आन्दोलनमा छन् ।
माडागास्कर जेन–जी मादा सेप्टेन्बर २०२५ मा सुरु भएको हो । बत्ती नियमित नभएको, सरकारी सेवामा ढिलासुस्ती र पर्यावरण समस्याका कारण जेन–जी आन्दोलन सुरु भएको थियो । जेन–जी आन्दोलनले राष्ट्रपति एन्ड्री राजोलिनाले सरकार विघटन गर्नु पर्यो । पेरुमा सेप्टेम्बर २०२५ को सुरुदेखि नै जेन–जी आन्दोलन सुरु भएको छ । पेन्सन सुधार कानुनको विरोधमा युवाहरू सडकमा ओलिएका छन् । पेरुमा जनसंख्याको २७ प्रतिशत युवाहरू रहेका छन् । टिमोर–लिस्तेको राजधानी दिलीमा युवाहरूले सेप्टेम्बर २०२५ मा आन्दोलन थालेका छन् । भ्रष्टाचार र सांसदहरूलाई गाडी किन्न विशेष सुविधा विरुद्ध युवाहरूको आन्दोलन जारी छ । टिमोर–लिस्तेमा जनसंख्याको ७० प्रतिशत ३५ वर्ष मुनि उमेर समूहका युवाहरूको रहेको छ । नेपालमा भएको जेन–जी आन्दोलनको चारदिनपछि फिलिपिन्समा सेप्टेम्बर १२, २०२५ देखि जेन–जी आन्दोलन सुरुभएको छ । आन्दोलनका मुख्य मुद्दा भ्रष्टाचार, पर्यावरण, बिजुली कटौती, असमानता, बाढीपहिरोको नाममा भएको आर्थिक घोटाला आदि रहेका छन् । मोरक्कोमा सेप्टेम्बर २७, २०२५ मा जेन–जी २१२ आन्दोलन चलिरहेको छ । २१२ मोरक्कोको नेपालको ९७७ जस्तै अन्तर्राष्ट्रिय डायलिङ कोड हो । मोरक्कोमा जेन–जी आन्दोलनका मुद्दाहरू भ्रष्टाचार, सार्वजनिक शिक्षा, स्वास्थ्य उपचार, २०३० को फिफा विश्वकप र २०२५ को अफ्रिका कपमा अनावश्यक निर्माण खर्च आदि विषय रहेका छन् । मोरक्कोमा कुल जनसंख्याको ३५ प्रतिशत युवाहरूको रहेको छ ।
नेपालको दुईदिने अर्थात् २७ घन्टे जेन–जी आन्दोलनले धेरै भित्री कुराहरू बाहिर सतहमा ल्याइदिएको छ । जेन–जी आन्दोलनले कतिपय व्यक्तिहरू, संवैधानिक निकायका पदाधिकारीहरू, जनप्रतिनिधि संस्थाका पदाधिकारीहरू, संसदीय पार्टीहरू, संचारकर्मीहरू, सुरक्षा निकायहरू र आन्दोलनपछि बनेको सरकार नै जनताको शंकाका घेरामा परिरहेका छन् । स्वयं जेन–जी पुस्ता प्रश्नका तारो बनेका छन् । सेप्टेम्बर ८ (भदौ २३) को बलिदानलाई विभाजित सबै जेन–जी पुस्ता आफ्नो स्वामित्व ठानिरहेका छन् तर सेप्टेम्बर ९ (भदौ २४) को ध्वंसलाई कसैले पनि स्वामित्व लिएका छैनन् । राजनीतिक दलहरू पानीमाथिको ओभानो बन्न घुसपैठ भन्न थालेका छन् । घुसपैठ हो भने कसको घुसपैठ हो स्पष्ट भन्न सक्नुपर्छ । केही राजनीतिक पार्टीका नेताहरू जेन–जी सहिदका रक्ताम्मे जुत्ताहरू पखाल्न पाउनुपर्ने अलापविलाप गरिरहेका छन् । नेताहरूका आवास खरानी बन्दा जनताले आहसम्म गरेनन् बरु यसले नेताहरूको भ्रष्टाचारलाई एक्स्पोज्ड गरिदिएको छ तर नेपालका ठूला राष्ट्रिय संरचना जल्दा जनताहरूमा चिन्ता बढेको छ ।
नेपालको जेन–जी आन्दोलनले राजनीतिज्ञ र सुरक्षा निकायको साखमा ठूलो गिरावट आएको देखिएको छ विशेषगरी सेनाको भूमिकाबारे बहस सुरुभएका छन् । आखिर किन भयो त नेपालमा जेन–जी आन्दोलन ? नेपालको संविधान र यसले सिर्जना गरेको राजनीतिक समस्या समयक्रममा बढिरहेको थियो र समयक्रममा बिस्तारै अनि एक्कासी यो अवस्था आयो । यो अवस्थाका लागि युवाहरू नै किन अघि बढे यसका दुई मुख्य कारण हुन सक्छन् । पहिलो ठूलो जेन–जी पुस्ता पढाइ गरिरहेको छैन अर्थात् कलेज गएको छैन दोस्रो पढेकाले पनि काम पाएका छैनन् । यही वेरोजगार युवाहरूको जमातले सामाजिक सञ्जालमा प्रतिबन्ध, भ्रष्टाचार, नातावादको विरोधमा आन्दोलन थाले र नेपालमा यो अवस्था आयो । नेपालको राजनीतिक भविष्य अझै अन्यौलमा छ, हेरौं समयले भविष्यमा हामी नेपालीलाई केके देखाउने हो ?
प्रतिक्रिया दिनुहोस्