२०८२ कार्तिक २

फिफाको एन्टी–डोपिङ कार्यक्रममा छनोट हुने पहिलो नेपाली खेलाडी बनिन् करिना पुरी

चौतारा । नेपालकी युवा खेलाडी करिना पुरीले अन्तर्राष्ट्रिय खेल प्रशासनमा नयाँ इतिहास रचेकी छिन् । संकटा फुटबल क्लबकी खेलाडी तथा कानून विद्यार्थी सिन्धुपाल्चोक स्थित मेलम्ची ज्यामिरेकी पुरी फिफाको ‘एक्जिक्युटिभ प्रोग्राम इन एन्टी–डोपिङ’ मा छनोट हुने विश्वका २८ जनामध्ये एक भएकी छन् । यो कार्यक्रममा सहभागी हुने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

फिफाको यो कार्यक्रम खेलमा हुने डोपिङ नियन्त्रणका लागि विश्वभर प्रतिष्ठित मानिन्छ। यसमा सहभागीहरूले एन्टी–डोपिङ कोड, परीक्षण प्रक्रिया, खेलाडी अधिकार, र अन्तर्राष्ट्रिय नियमबारे प्रशिक्षण पाउँछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का एक वरिष्ठ अधिकृतका अनुसार, “करिनाको छनोट नेपालका लागि गर्वको विषय हो। यो व्यक्तिगत मात्र होइन, राष्ट्रिय उपलब्धि पनि हो ।”

२३ वर्षीया करिना बहुमुखी खेलाडी हुन् । उनले ग्रेट हिमालय क्रिकेट एकेडेमीमा क्रिकेट प्रशिक्षण लिएकी थिइन् र एशियन गोजुर्यु कराते प्रतियोगितामा दुई स्वर्ण जितिसकेकी छन् । अहिले उनी कानून अध्ययन गर्दैछिन् र खेल र कानूनी ज्ञानलाई सँगसँगै अघि बढाइरहेकी छन् ।

नेपालमा हालसम्म प्रमाणित एन्टी–डोपिङ विशेषज्ञ नहुँदा खेल क्षेत्रमा कमजोरी रहेको बताइन्छ। पछिल्ला वर्षहरूमा केही खेलाडीमा डोपिङ पोजिटिभ पाइएको भए पनि प्रभावकारी कदम नचालिएको खेल विज्ञहरूको टिप्पणी छ ।

फिफाको यो प्रशिक्षणपछि करिनाले खेलाडी र प्रशिक्षकहरूलाई डोपिङबारे सचेत गराउने, संघ–संस्थालाई सहयोग गर्ने र नीति सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उनीबाट नेपालमा एन्टी–डोपिङ क्षेत्रमा नयाँ आशा पलाएको खेल विज्ञहरूको विश्वास छ ।

 

रेडियो सिन्धु बााट

प्रतिक्रिया दिनुहोस्