२०८२ कार्तिक २

धुलिखेल–काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य, चौतारा अस्पतालले लियो सेवा केन्द्रको रूप

सिन्धुपाल्चोक । कुनै समय ‘रेफर सेन्टर’को रूपमा आलोचना खेप्दै आएको चौतारा अस्पताल अहिले सेवा विस्तारसहित आधुनिक स्वास्थ्य केन्द्रको नयाँ पहिचान स्थापित गर्न सफल भएको छ । सामान्य ज्वरो वा सानो चोटपटक लाग्दा समेत धुलिखेल वा काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएपछि जिल्लाबासीहरूले गुणस्तर स्वस्थ्य सेवा पहुँचमामा सहजता महसुस गर्न थालेका छन् ।

अस्पतालमा पछिल्लो समय सेवा विस्तार, दक्ष चिकित्सक टोली, अत्याधुनिक उपकरण र प्रभावकारी व्यवस्थापनका फलस्वरूप दैनिक तीन सयभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन् । गत तीन महिनामै अस्पतालमा ३० भन्दा बढी हाडजोर्नीसम्बन्धी र ४० भन्दा बढी सामान्य शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छ ।

गत असारदेखि सुरु गरिएको शल्यक्रिया सेवाले हातखुट्टा भाँचिएका, घुँडाको समस्या भएका वा हाडसम्बन्धी अन्य रोगका बिरामीलाई अब बाहिरका अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गराएको सेवाग्राही साईली गिरीले बताइन् ।

अस्पतालमा हाल चार जना हाडजोर्नी विशेषज्ञसहित दक्ष चिकित्सकहरूको टोली खटिएको छ । साथै, ‘सीआर्म मेसिन’ र ‘डिजिटल एक्स–रे’ उपकरण जडानसँगै शल्यक्रिया सेवा झन् सुरक्षित र प्रभावकारी बनेको मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्धमणी भण्डारीले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकमा बढ्दो मानसिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै चौतारा अस्पतालले २४ घण्टा मानसिक स्वास्थ्य सेवा समेत सञ्चालनमा ल्याएको छ । यस्तै, टेकु अस्पतालसँगको सहकार्यमा जनरल फिजिसियन, बालरोग, छालारोग र यौनरोग विशेषज्ञद्वारा हरेक दोस्रो र चौथो आइतबार सेवा प्रदान गरिँदै आएको डा.भण्डारी बताउछन् ।

यसैगरी चौतारामै मृगौला डायलासिस सेवा सुरु भएको छ । यो सेवा सञ्चालनमा आएपछि दीर्घ रोगीहरूलाई राहत मिलेको स्थानीय पूर्णबहादुर नेपालीले बताए ।

हाल अस्पतालमा १६ जना एमबीबीएस चिकित्सक, २ जना दन्त चिकित्सकसहित ११६ जना स्वास्थ्यकर्मी कार्यरत छन् । बिरामीको बढ्दो चापसँगै अस्पतालले अझ थप सेवा विस्तारको योजना अघि सारेको छ ।

डा. भण्डारीका अनुसार, पित्तथैली शल्यक्रिया, मृगौला पत्थरी, डन्डोस्कोपी, भिडियो एक्स–रे र इको परीक्षणका लागि अत्याधुनिक उपकरण आवश्यक छन् । यी उपकरण व्यवस्थित गर्न सकेमा रेफर हुने धेरै केसहरू स्थानीय तहमै उपचार गर्न सकिने उनको भनाइ छ ।

भूकम्पपछिको पुनर्निर्माणमा अग्रणी सिन्धुपाल्चोकमा स्वास्थ्य सेवाको पहुँच विगतमा सीमित थियो । चौतारा अस्पतालको उल्लेखनीय सुधार र सेवा विस्तारले अब जिल्लाको स्वास्थ्य क्षेत्रको नक्सा नै बदल्न थालेको स्थानीयको मूल्याङ्कन छ।

प्रतिक्रिया दिनुहोस्