चौतारा/ जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका धेरै भूभागसहित सिन्धुपाल्चोकमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।
जिल्ला आपतकालीन बैठकले गरेको निर्णय अनुसार बाढी, पहिरो, डुवान र चट्याङको जोखिम न्यूनिकरणका लागि विभिन्न तयारी र प्रतिकार्य योजना लागू हुने भएको छ।
निर्णयअनुसार असोज १७ देखि २० गतेसम्म जिल्लाभित्रका मुख्य तथा सहायक राजमार्गहरूमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन (दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यकबाहेक) सञ्चालनमा रोक लगाइनेछ। वर्षाको मात्रा र जोखिमको स्तर अनुसार अन्य समयमा पनि आकस्मिक रूपमा राजमार्ग बन्द गर्न सकिने जनाइएको छ।
त्यस्तै, नदी किनार र अत्यन्त जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरुलाई स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा सुरक्षित स्थानमा सारिनेछ। विपद् व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, चौतारा अस्पताल, विभिन्न संघ–संस्था तथा स्थानीय तहलाई पूर्ण सक्रिय रहन निर्देशन गरिएको छ।
जिल्ला भित्रका सुरक्षा निकायका सबै युनिटहरुलाई सतर्क अवस्थामा रहन भनिएको छ भने उपलब्ध दमकल, एम्बुलेन्स र हेभी इक्विपमेन्टलाई चालकसहित २४ घण्टा तयारी अवस्थामा राख्न व्यवस्था मिलाइने भएको छ। सडक अवरुद्ध भएमा नजिकका सुरक्ष इकाइहरुले सडक डिभिजन, पूर्वाधार कार्यालय र निजी क्षेत्रसँग समन्वय गरी हेभी इक्विपमेन्ट तुरुन्त परिचालन गर्नेछन्।
उद्धार र राहतका लागि सिन्धु–सुकुटे क्षेत्रका राफ्टिङ व्यवसायीहरुसँग पनि आवश्यकता परेमा बोट, कायाक र अपरेटर उपलब्ध गराइनेछ।
स्थानीय तहलाई मौसम बुलेटिन र जोखिमसम्बन्धी सूचना प्रभावकारी ढंगले संचार गर्ने, आपतकालीन कार्यसंचालन केन्द्र (LEOC) पूर्ण रुपमा परिचालन गर्ने, स्वयमसेवक परिचालन गर्ने र उद्धार–राहतका लागि स्रोत साधन तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।
जिल्ला प्रशासनले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्क रहन तथा जनस्तरमा सचेतना फैलाउन अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस्