२०८२ कार्तिक २

चौतारा खालेमा नयाँ झर्ना ‘वीरेन्द्र झर्ना’ नामकरण गर्ने तयारी

सिन्धुपाल्चोक । चौतारा खालेमा अवस्थित एक सुन्दर प्राकृतिक झर्ना फेला परेको छ । जुगल पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण मञ्च नेपाल, चौताराका समाजसेवी सबिन श्रेष्ठ, समिर श्रेष्ठ र खालेगाउँका स्थानीय युवा बीरबल गोलेको पहलमा उक्त झर्नाको वस्तुगत निरीक्षण गरिएको हो ।

निरीक्षणपछि झर्नाको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्ने निर्णय गरिएको छ । विशेषगरी वर्षायाममा पानी पर्दा ओत लाग्ने टहरो, झर्नासम्म पुग्ने सुरक्षित खुद्किलो, र प्राकृतिक स्वीमिङ पुलका लागि सानो जाली ‘वाल’ निर्माण गर्ने योजना बनाइएको मञ्चले जनाएको छ ।

यसबाहेक, उक्त झर्नालाई ‘वीरेन्द्र झर्ना’ नामाकरण गर्ने र चौतारा साँगाचोकगढी नगरपालिकाको प्राकृतिक सम्पदाको सूचीमा राख्न माग गर्दै स्थानीय सरकार प्रमुख कृष्णप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउने तयारीसमेत भएको छ ।

निकट भविष्यमा झर्नाको बारेमा विस्तृत जानकारीसहितको सूचना–मैत्री भिडियो सार्वजनिक गर्ने कार्यक्रमसमेत आयोजना गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्