२०८२ मंसिर १७

वडा कार्यलयको आँगनमै बालिकामाथि कुटपिट

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका–१ मा ११ वर्षीया कुनसाङ तामाङलाई मोबाइल चोरीको आरोप लगाउँदै छिमेकीले निर्घात कुटपिट गरेको घटनाले स्थानीय समुदायलाई स्तब्ध पारेको छ ।

गत राति स्थानीय रमेश श्रेष्ठ, उनकी श्रीमती मंगली श्रेष्ठ तथा छोरा सुसन र सुशील श्रेष्ठले बालिकालाई तातो झिर, सिस्नो र शारीरिक यातना दिँदै पिटेका थिए । मोबाइल चोरी नगरेको बारम्बार आग्रह गरेकी बालिकाले निरन्तर पिटाइ र यातना सहन नसकी अन्ततः ‘मैले नै चोरेकी हुँ’ भन्न बाध्य भएको बताइएको छ । त्यसपछि उनलाई घर पुर्‍याइए पनि बाबु पासाङकै अगाडि फेरि पिटाइ गरिएको छिमेकीले बयान दिएकी छिन् ।

छिमेकीहरूले घटनाबारे गम्भीर आपत्ति जनाउँदै ‘गरिब र असहाय परिवार भएकै कारण उनीहरूलाई हेपिएको’ बताएका छन् । केहीले बालिकाको चिच्याहट समेत राति सुनेको दाबी गरेका छन् ।

बालिकाले आफ्नै बयानमा रमेश श्रेष्ठ स्वयंले समेत कुटपिट गरेको र दुई छोराले तातो झिरले पिटेको उल्लेख गरेकी छिन् । श्रेष्ठ हाल जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा भान्से पदमा कार्यरत छन् । कानुन रक्षक संस्था भित्रै कार्यरत व्यक्तिको परिवारबाटै बालिकामाथि यसरी अमानवीय व्यवहार हुनु समाजकै लागि लाजमर्दो भएको स्थानीयले बताएका छन् ।

पीडित बालिकालाई छिमेकी भाउजुले बिहान करिब ११ बजे स्वास्थ्य चौकी पुर्‍याए तर तत्काल सहयोग वा कानुनी प्रक्रिया अगाडि बढेन । त्यसपछि वडा कार्यालय लगिए पनि सो समयमा कम्प्युटर अपरेटर मात्रै उपस्थित थिए । उनले पीडित पक्षलाई ‘जिल्ला जानु’ भन्दै पठाएको जनाइएको छ । ‘११ वर्षीया बालिका र अशिक्षित छिमेकीलाई यस्तो अवस्थामा जिल्ला धपाउनु नै अर्को अन्याय हो । यहा सम्म कि प्रहरीलाई खबर गर्ने कष्ट समेत वडाले गर्ने नसकेको देखियो ।

बालिकाको बाबु पासाङ भने सम्पूर्ण घटनामा मौन बसे,त्यसपछि बिहानै गलैंचा बोकी काठमाडौं हिँडेका छिमेकीहरू बताउँछन् । छोरीको पीडामा बाबुले जिम्मेवारी नलिएको भन्दै स्थानीयले असन्तोष प्रकट गरेका छन् ।

त्यसअघि नै वडा कार्यालयले ‘बालमैत्री वडा घोषणा’को तयारी गरिरहेको अवस्थामा सोही आँगनमा बालिकामाथि हिंसा हुनु विडम्बनापूर्ण रहेको स्थानीयवासीले टिप्पणी गरेका छन् । ‘बालमैत्री वडा भन्नु कागजमा मात्रै रहेछ, व्यवहारमा भने हिंसाको घेरा अझै बलियो देखिन्छ ।

उपस्थित समुदायकाको भनाइमा बालबालिकामाथि यातना दिने कार्यले संविधान र अन्तर्राष्ट्रिय कानुन दुवै उल्लंघन गरेको छ । ‘११ वर्षकी बालिका अपराधी भए वा नभएको प्रमाणित गर्ने काम प्रहरी र अदालतको हो,  तातो रड र सिस्नो लिएर सजाय दिनु गैरकानुनी मात्र होइन, अमानवीय घटना पनि हो ।

घटना स्थलमा रिपोर्टका लागि पुगेका पत्रकारहरू बाट प्रहरीलाई खबर भए पछि श्रेष्ठको परिवारलाई अनुसन्धानका लागि प्रहरी कार्यलय लगिएको छ । स्थानीयले घटनामा संलग्न रमेश श्रेष्ठ परिवारमाथि अनुसन्धान गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्