२०८२ कार्तिक २

तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु

सिन्धुपाल्चोक |एक महिनादेखि पहिरोको कैदमा परेको तातोपानी–कोदारी राजमार्ग फेरि जीवन्त भएको छ । चीनसँगको प्रमुख व्यापारिक ढोका तातोपानी नाका सोमबारदेखि सञ्चालनमा आएपछि दशैंको मुखमा सामान बोकेर आएका कन्टेनरहरूको आवाजाही सुरु भएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका अनुसार चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र त्यहाँबाट चीनतर्फ कन्टेनरहरू आउजाउ गर्ने क्रम सुरु भएको छ । लामो समय रोकिएको व्यापारिक नसा फेरि चलायमान भएपछि व्यापारीदेखि स्थानीयसम्म राहतको सास फेरेका छन् ।

गत भदौ ८ गतेदेखि डाक्लाङ, घट्टेखोला र कोदारी खण्डमा खसेका पाँच वटा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध पारेको थियो । सडक डिभिजन कार्यालय चरिकोटले ३ एस्काभेटर, ३ लोडर, १३ टिपर र ४० जना मजदुर खटाएर पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो। तर, पहिरोको जोखिम अझै कायम छ । करिब दुई सय घरधुरी अझै पहिरोमाथि भयभित्र बाँचिरहेका छन् ।

स्थानीयको असहमति र सरोकारवालाको दबाबबीच अन्ततः सर्वपक्षीय बैठक बसेर समाधान खोजिएको हो । अन्तरिम चुनावी सरकारले भौतिक पूर्वाधार मन्त्रालयसमेत सम्हालेका कुलमान घिसिङको पहलमा सहमति जुटेपछि काम तीव्र भएको हो । कात्तिक मसान्तमा ठेक्काको सूचना निकाल्ने र असार मसान्तभित्र स्थायी काम सुरु गर्ने निर्णय पनि भएको छ ।

सोमबार मन्त्री घिसिङसहितको टोलीले स्थल अनुगमन गरी स्थानीयसँग छलफल गरेको थियो । छलफलमा बस्तीको दीर्घकालीन सुरक्षासँगै सडकलाई स्थायी रूपमा सञ्चालन गर्ने प्राविधिक उपायबारे विचार–विमर्श भएको छ ।

तातोपानी–कोदारी सडक फेरि खुल्दा चीनसँगको व्यापारिक नसा मात्र होइन, स्थानीयको दैनिक जीवन पनि सहज भएको छ । दशकौंदेखि हिमालको काखमा बगिरहेको भोटेकोशीजस्तै, अब व्यापार र सहकार्यको धारा पनि फेरि बग्न थालेको छ।

 

प्रतिक्रिया दिनुहोस्