२०८२ कार्तिक १

जेनजी’ आन्दोलनका क्रममा भागेका करिब सात हजार पाँच सय कैदी अझै फरार

सिन्धुपाल्चोक । ‘जेनजी’ आन्दोलनका क्रममा कारागार तोडफोड र आगजनीपछि फरार भएका कैदीमध्ये करिब सात हजार पाँच सय अझै बेपत्ता छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म कुल ६ हजार ९ सय ८४ कैदीबन्दीलाई पुनः कारागारमा फर्काइएको छ । पछिल्ला दुई दिनमै मात्रै ६सय ५६ जना कैदीबन्दी फर्किएका विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार अधिकांश कैदी आफैं फर्किँदै आएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको हो ।

गत भदौ २४ गतेको प्रदर्शनका क्रममा २८ वटा कारागार र नौ वटा सुधारगृहबाट १४ हजार ५सय ५६ कैदी भागेका थिए । त्यतिबेला १५ हजार ५सय २५ जना भने नभागी कारागारभित्रै बसेका थिए ।

फरारमध्ये बालसुधार गृहका ९सय ६३ जना समेत रहेका छन् भने प्रहरीले हिरासतमा राखिएका करिब दुई हजार आरोपीसमेत भागेको जनाएको छ । हालसम्म दश कैदीको मृत्यु भइसकेको विभागले जनाएको छ ।

फरार कैदीहरूको खोजी कार्यलाई तीव्र पारिएको र छिट्टै नियन्त्रणमा लिने तयारी भइरहेको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्