देशभर हाल मनसुनी वायुको प्रभाव केही कमजोर देखिए पनि स्थानीय वायुको आंशिक प्रभावसँगै विभिन्न भूभागमा मौसम परिवर्तनशील बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभाव स्वरूप कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा सामान्यतया बदली छ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित मध्य र पश्चिमका पहाडी भूभागमा बादल मडारिने र आंशिक वर्षा हुने सम्भावना छ । त्यस्तै, मधेस प्रदेशसहित बाँकी तराईका कतिपय ठाउँमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी र बागमती प्रदेशका पहाडमा भने भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
आज राति पनि देशको अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका कतिपय स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ । तराईका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको बताइएको छ ।
मौसमविद्हरूका अनुसार, अहिले मनसुनको चाल सुस्त भए तापनि कतिपय ठाउँमा पानीको गर्जन सुन्न सकिने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्