२०८२ कार्तिक १

डेम्बेलेले पहिलोपटक बालोन डि’ओर जिते, बोनमतीको तेस्रो लगातार उपाधि

सिन्धुपाल्चोक | फ्रान्सेली स्टार ओस्मान डेम्बेलेले विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि बालोन डि’ओर २०२५ आफ्नो नाममा लेखाएका छन् । सोमबार राति फ्रान्समा सम्पन्न अवार्ड समारोहमा च्याम्पियन्स लिग विजेता पीएसजीका फरवार्ड डेम्बेलेलाई वर्षको उत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।

पीएसजीलाई २०२४/२५ को सिजनमा युरोपियन च्याम्पियन्स लिग जिताउने क्रममा उनले लिगमा मात्र ३७ गोल र १५ असिस्ट गरेका थिए। उत्कृष्ट फर्मकै कारण उनले करिअरको पहिलो बालोन डि’ओर जितेका हुन् ।

महिला फुटबलतर्फ भने स्पेनकी एइताना बोनमतीले लगातार तेस्रो वर्ष बालोन डि’ओर जितेकी छन्। बार्सिलोना क्लबबाट खेल्दै आएकी उनी हाल विश्व फुटबलकै सफलतम महिला मिडफिल्डर मानिन्छिन्।

त्यस्तै, युवा प्रतिभा अवार्ड पुरुषतर्फ बार्सिलोनाका लामिन यमाल र महिलातर्फ स्पेनकै भिकी लोपेजले हात पारे।

पीएसजीले यसपटक अवार्ड समारोहमा प्रभुत्व जमायो। क्लब उत्कृष्ट पुरुष टोली घोषित भयो भने प्रशिक्षक लुइस एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक बने। युरोपियन फाइनलमा चम्किएका गोलरक्षक जियानलुजी डोनारुमा उत्कृष्ट गोलरक्षक भए।

महिला फुटबलतर्फ वर्षको उत्कृष्ट टोली इंग्लिस क्लब आर्सनल घोषित भयो। उत्कृष्ट स्ट्राइकर पुरुषतर्फ स्वीडेनका भिक्टोर ग्योकेरेस र महिलातर्फ पोल्यान्डकी इवा पाजोर भए।

 

प्रतिक्रिया दिनुहोस्