२०८२ कार्तिक १

सार्वजनिक शिक्षा सुधारका लागि तत्काल गर्नुपर्ने १० महत्वपूर्ण कदम

गौरी प्रधान,

सार्वजनिक शिक्षा अभियन्ता तथा

संस्थापक अध्यक्ष, राष्ट्रिय शिक्षा अभियान, नेपाल

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई हार्दिक शुभकामना व्यक्त गर्दै यो लेख प्रस्तुत गरिएको छ । वर्तमान अन्तरिम सरकारको कार्यकाल ६ महिनाको हुने घोषणा भएको सन्दर्भमा यो छोटो अवधिमा दीर्घकालीन योजना बनाउनुभन्दा तत्कालै गर्न सकिने र नगरी नहुने कदमहरू प्राथमिकतामा राखिनु जरुरी देखिन्छ । विशेषगरी, जेन–जी आन्दोलनले उठाएका मागहरूको पृष्ठभूमिमा सार्वजनिक शिक्षा सुधार र सुदृढीकरण अब ढिलो गर्न नहुने आवश्यकता बनेको छ ।

यसै सन्दर्भमा तत्काल ध्यान दिनुपर्ने १० मुख्य सुझावहरु निम्नानुसार छन् :

१. शिक्षा भन्ने कुरा सदैव सार्वजनिक (पब्लिक) विषय हो । यो पब्लिक र प्राइभेट भनेर छुट्टयाउने विषय होइन । त्यसैले, शिक्षामा नीजी क्षेत्रको भूमिका भए तापनि नाफामुलक र व्यापारीक संस्थाहरुलाई दुरुत्साहन गर्नु पर्दछ ।
२. हाम्रो देशमा चल्दै आएको शिक्षा र शिक्षण विधि बिज्ञान सम्मत, सहभागिता मूलक र सिकाइ मैत्री हुन सकेको छैन । त्यसमा युग अनुकुलको परिवर्तन र सुधारको खाँचो छ । साथै, शिक्षामा मातृभाषा, सम्पर्क भाषा र राष्ट्रिय तथा अन्तराष्ट्रिय भाषाको महत्व र विविधतालाई प्राथमिकतामा राख्नु पर्दछ ।
३. शिक्षा भन्ने कुरा सैद्धान्तिक, व्यवहारिक र नविनतम विधिको समिश्रण हुनाको साथै समय सान्दर्भिक  हुन जरुरी छ, जुन कुरा हाम्रोमा गम्भीर ढङ्गले खत्केको छ । शिक्षामा नविनतम र सृजनशील अवधारणा विकास गर्न व्यवसायिक, प्रविधि र अनुसन्धानमा जोड दिन नीतिगत व्यवस्था र अनुगमन गर्नु पर्दछ ।
४. हाम्रा विद्यालयहरुमा संचालित शिक्षण विधिहरु, खासगरी, गणित, विज्ञान र अंग्रेजी भाषा सिकाइ विद्यार्थीको निम्ति सरल र सहज हुन सकेको छैन । तसर्थ, त्यस सम्वन्धी पाठ्यक्रममा आधुनीकरण र शिक्षण विधिमा सुधार गर्नु पर्दछ । शिक्षकहरुको समयानुकुल क्षमता अभिवृद्धि, तालिम र स्रोत व्यवस्था गर्नु पर्दछ। विद्यालयहरुमा शोषण, विभेद र दण्ड-सजाँयरहित शिक्षा र प्रेरणादायी वातावरण निर्माण हुन जरुरी छ ।
५. हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको माग र आवश्यकता बमोजिम प्राविधिक र व्यवसायिक शिक्षाको सुधार र सम्वर्द्धन गर्नु पर्दछ । निम्न तथा मध्यम स्तरीय प्राविधिक शिक्षाको निम्ति सिटिभिटी को संस्थागत विकास, क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्दछ ।
६. संविधानत: प्राप्त शिक्षाको अधिकारलाई सुनिश्चित गर्न, सार्वजनिक शिक्षामा सुधार र सवलीकरण तथा प्रस्तावित संघिय शिक्षा ऐनलाई युग अनुकुल, समय सापेक्ष र विकेन्द्रीकृत बनाउन सुस्पष्ट नीतिगत आधार पत्र तैयार गर्न पर्दछ । स्थानिय तहका विद्यालयहरुको व्यवस्थापनमा सामुदायिक सहभागिता प्रवर्द्धन गर्नु पर्दछ ।
७. शिक्षाको निम्ति देशको ठूलो पूँजी र यूवा जनशक्तिको पलायनलाई रोकथाम गर्न आफ्नै देशभित्र गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षाको विकास गरी प्रदान गर्ने व्यवस्था गर्नु पर्दछ । तसर्थ, ग्रामिण तहसम्म कम्प्युटर, डिजिटल र अन-लाइन शिक्षा विकास र विस्तार गरि प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्नु पर्दछ ।
८. सार्वजनिक शिक्षालाई सर्व-सुलभ, गुणस्तरीय, उत्पादनमुखी तथा रोजगारीमुखी बनाउन सरकारले मूल जिम्मेवारी लिनाको साथै विद्यालयहरुमा सामुदायिक स्वामित्व सबल बनाउन पहल गर्नु पर्दछ ।
९. जेन-जी पुस्ताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न स्थानिय प्रविधिको आधुनिकीकरण, डिजिटल एजुकेसन, सूचना-प्रविधि तथा ए.आइ. को विषयलाई सार्वजनिक शिक्षा सम्वर्द्धन र सवलीकरणको आधार बनाउन पर्दछ । शिक्षालाई सहभागितामुलक र समावेशी बनाउन पर्दछ ।
१०. शिक्षा क्षेत्रभित्र विद्यमान असमानता, भ्रष्टाचार, अनियमितता, कमिशनतन्त्र र खुल्ला व्यापारलाई रोकथाम र दुरुत्साहन गर्न द्रुत सम्बोधन कार्य टिम बनाएर अगाडि बढ्न जरुरी छ । वंचितिकरणमा रहेका ग्रामिण तथा सुविधाविहिन सहरी समुदायहरुका बालबालिकाको निम्ति व्यवसायिक, प्राविधिक तथा समावेशी शिक्षा प्रदान गर्नु पर्दछ ।

यदि शिक्षामा समयानुकूल सुधार गर्ने हो भने केवल कक्षा र परीक्षामा सीमित नभई विद्यालयदेखि विश्वविद्यालय तहसम्म विज्ञान, प्रविधि, अनुसन्धान, डिजिटल सूचना र ए.आइ. मा आधारित शिक्षा प्रणाली विकास गर्नुपर्छ । विगतका आयोगहरू, अभियान र शिक्षाविद्हरूबाट आएका सिफारिसलाई पुनरावलोकन गर्दै ६ महिनाभित्र तत्कालै लागू गर्न सकिने कार्यलाई प्राथमिकतामा राख्न आवश्यक छ । यस दिशामा नवनियुक्त मन्त्रीज्यूले दृढतापूर्वक अघि बढ्नु भएको खण्डमा नेपालको सार्वजनिक शिक्षा प्रणाली २१औं शताब्दीको आवश्यकता अनुसार सुदृढ हुने विश्वास लिन्छु ।

प्रतिक्रिया दिनुहोस्