सिन्धुपाल्चोक । मेलम्ची–६ स्थित श्री जागेश्वरी आधारभूत विद्यालय मानेभन्याङमा विद्यालयको अग्रसरतामा नमूना किचेन गार्डेन निर्माण गरिएको छ । असोज २ गते उद्घाटन गरिएको सो किचेन गार्डेनको उद्देश्य विद्यालयका बालबालिकालाई उत्पादन भएको स्वस्थ र अर्गानिक खाजा खुवाउनु रहेको विद्यालयले जनाएको छ ।
विद्यालयको जग्गामा ३५ फिट लम्बाइ र २० फिट चौडाइको फलामे टनेल स्थापना गरी मौसमी तरकारीका विभिन्न जातका विरुवा रोपेर तयार गरिएको यो किचेन गार्डेनबाट करिब १३५ विद्यार्थी तथा शिक्षकलाई वर्षभरि तरकारी खान पुग्ने व्यवस्था मिलाइनेछ ।
सो कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक–शिक्षक संघका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । अभिमुखीकरण सत्रमा फोकल शिक्षक तथा किचेन गार्डेन संयोजक लालबहादुर अर्यालले करेसाबारी तयार गर्ने, रोप्ने, गोडमेल गर्ने र संरक्षण गर्ने तरिका बारे प्राविधिक जानकारी दिएका थिए ।
साझेदारी नेपालको सहयोगमा तयार गरिएको उक्त किचेन गार्डेन सञ्चालनका लागि आवश्यक कृषि औजार, विउ, नर्सरी, व्यवस्थापन खर्च तथा नियमित प्राविधिक सहयोग उपलब्ध गराइने कार्यक्रमका सल्लाहकार पुरुषोत्तम घोरासैनी र अधिकृत पुष्पा भणरीले जानकारी दिएका छन् ।
विद्यालयका प्रधानाध्यापक बल बहादुर तमाङले विद्यालयमा स्थापना गरिएको किचेन गार्डेनमार्फत विशेष गरी दलित र जनजाति समुदायका बालबालिकाले स्वच्छ र ताजा तरकारी खान पाउने, विद्यालयमा नियमित उपस्थिति बढ्ने र तयारी खाजा (बिस्कुट, चाउचाउ) खाने बानी क्रमशः हट्ने अपेक्षा गरिएको बताए । साथै, किचेन गार्डेनको संरक्षण र निरन्तर सञ्चालनका लागि विद्यार्थी, शिक्षक तथा अभिभावकलाई परिचालन गर्ने विद्यालयको प्रतिबद्धता रहेको पनि उनले जनाए ।
प्रतिक्रिया दिनुहोस्