२०८२ मंसिर ६

चौताराको मिनि रंगशाला निर्माण फेरि सुरु, असार मसान्तभित्र पूरा गर्ने लक्ष्य

सिन्धुपाल्चोक — चौतारामा निर्माणाधीन मिनि रंगशालाको कामले फेरि गति लिन थालेको छ । बागमती प्रदेश सरकारको लगानीमा सञ्चालित यो योजना असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

चार वर्षअघि सुरु भएको रंगशाला निर्माण तोकिएको समयमा पूरा नहुँदा ठेक्का रद्द गरिएको थियो । त्यसपछि सरकारले खरिद नियमावली संशोधन गरी अलपत्र परियोजनालाई थप एक वर्ष समय दिने व्यवस्था गरेपछि चौतारा रंगशालाको कामलाई निरन्तरता मिलेको हो ।

२०७७ असार २३ गतेदेखि सुरु भएको यो परियोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको थियो । तर, दुई पटक म्याद थप्दा पनि २०८० चैतभित्र काम सम्पन्न नभएपछि ठेक्का तोडिएको थियो । हालसम्म करिब आधा मात्र भौतिक प्रगति भएको छ ।

सामाजिक विकास कार्यालय, धुलिखेलका इन्जिनियर कुशुम भट्टराईका अनुसार प्यारापिट ढलान, मैदानमा पानी निकास, ग्राभेल तथा बालुवा फिलिङ, सर्भिस लेन, टिकट घर, रात्रिकालीन फ्लडलाइट तथा डिजिटल डिस्प्ले बोर्ड जडानजस्ता काम अझै बाँकी छन् ।

यद्यपि, निर्माण व्यवसायीहरूले अघिल्लो चरणमा सम्पन्न करिब दुई करोड रुपैयाँ बराबरको कामको भुक्तानी अझै नपाएको गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्