२०८२ पुष ४

सिन्धुपाल्चोकमा हरियालीको सपना : दिगो फोहर व्यवस्थापनका लागि अपांगता समुदायको साझा पहल

निर्मल बस्नेत
सुकुटे । राष्ट्रिय अपांग एकता केन्द्रको आयोजना तथा ग्लोबल ग्रीन फ्रन्टको सहयोगमा “स्वच्छ वातावरण र दिगो फोहर व्यवस्थापन” विषयमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । भाद्र २३ र २४ गते सिन्धुपाल्चोकको सुकुटेमा आयोजित कार्यशालामा जिल्लाका अपांगता भएका २० जना सहित अभिभावक, सरोकारवाला र स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम उद्घाटन गर्दै बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले जलवायु परिवर्तनका असर न्यूनिकरण र फोहर व्यवस्थापनलाई दिगो बनाउन कार्यशालाले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यशालामा पाटन संयुक्त क्याम्पस, वातावरण विभाग त्रिवि की अञ्जल महतले “जलवायु परिवर्तन र फोहर व्यवस्थापन” विषयमा कार्यपत्र प्रस्तुत गरिन् । साथै चार्टर्ड एकाउन्टेन्ट अश्विनकुमार नाथ र समाजशास्त्री तारानाथ सिग्देलले वातावरणीय सन्तुलन र जीव–निर्जीव वस्तुहरूबाट उत्पन्न हुने फोहर व्यवस्थापनबारे सहभागीलाइ अभिमुखीकरण गराएका थिए ।

दुई दिने कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका, सुनकोशी गाउँपालिका र बलेफी गाउँपालिकाका अपांगता भएका व्यक्ति तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको संस्थाका अध्यक्ष टिकाराम पराजुलीले जानकारी दिए ।

उनका अनुसार, कार्यशाला सम्पन्न भएपछि सहभागिलाई कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने गरी २२ जनालाई २/२ वटा डस्टबिन वितरण गरिएको थियो । डस्टबिन बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङकै हातबाट वितरण गरिएको हो ।

डस्टबिन पाउनेमध्येकी राधिका माझीले “अबदेखि फोहर व्यवस्थापनलाई आफ्नो दैनिक अभ्यास बनाउने” प्रतिबद्धता जनाइन् ।

 

प्रतिक्रिया दिनुहोस्