सिन्धुपाल्चोक, स्याउले । जुगल क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ जुगल पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण मञ्च नेपालले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउलेमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

श्री सेतीदेवी माध्यमिक विद्यालयका कक्षा १२ उत्तीर्ण २९ विद्यार्थीहरुलाई बधाई तथा सम्मान गर्ने कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक उपलब्धिसँगै जुगल क्षेत्रको पर्यटन सम्भावना र वातावरणीय संरक्षणका विषयमा समेत जोड दिइएको थियो ।
आयोजक मञ्चले विद्यालयस्तरमै पर्यटनप्रति चेतना जगाउनुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीलाई ‘पर्यटनमै भविष्य’ भन्ने सोचसहित अघि बढ्न प्रेरित गरेको छ । कार्यक्रममा वक्ताहरूले जुगल हिमाल क्षेत्रमा फैलिएको प्राकृतिक सुन्दरता र सम्भाव्यताका कारण यस क्षेत्रमा विद्यार्थीमार्फत पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको बाटो अझ सबल बन्ने अपेक्षा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्