२०८२ आश्विन १९

को हुन गंगा सोनाम ?

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपा, स्थित बडहरे पाटी गाउँमा एउटा साधारण परिवारमा गंगा सोनाम जन्मिइन्। बुवा ध्रुव सोनाम र आमा सीता सोनामका कान्छी सन्तान उनी हुन्। अहिले गंगा २० वर्ष पुगिसकेकी छन्। गाउँकै श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा पढ्दै उनले कक्षा १२ सम्मको अध्ययन पूरा गरिन्।
बाल्यकालदेखि नै संगीतप्रतिको उनको मोह स्पष्ट थियो। गीत गुनगुनाउने, विद्यालयमा हुने साङ्गीतिक कार्यक्रमहरूमा भाग लिने काम उनले सानो उमेरमै सुरु गरिन्। घरमै सांगीतिक वातावरण भएकाले पनि यो रुचि बढ्दै गयो। उनका दाजु दीपेन्द्र सोनाम मोडल र गायक दुवैका रूपमा स्थापित छन्। दीपेन्द्र करिब आठ वर्षदेखि गीत–संगीतमा सक्रिय छन् र पर्खाइ, चोखो माया, बदमास, माहुरी चिनीमा, मेरो हजुर जस्ता थुप्रै गीत चर्चित छन्। दाजुको यात्राले बहिनीलाई पनि मार्गदर्शन गर्यो।
चण्डेश्वरी विद्यालयमा पढ्दा दाजु गीत गाएको देखेर गंगा अझै प्रेरित भइन्। विद्यालयमै उनीहरूले गीत गाउँदा साथीहरूले वाहीवाही गर्थे, जसले गंगामा आत्मविश्वास बढायो। दाजु दीपेन्द्रले संगीतमा लाग्न प्रोत्साहन मात्र गरेनन्, आफ्ना अपूरा सपनाहरू बहिनीमार्फत पूरा हुने विश्वास पनि राखे।
संगीतलाई जीवनकै लक्ष्य बनाउने संकल्पसहित गंगा केही महिनाअघि परिवारका साथमा काठमाडौं आइन्। यहीं दाजुले लोकप्रिय गायक तथा संगीतकार रामकुमार नेपालीसँग भेट गराइदिए। भर्सटाइल गायक रामकुमार नेपालीले उनलाई आफ्नो पहिलो संगीत गुरुका रूपमा सिकाउने मात्र होइन, विभिन्न किसिमका गीत अभ्यास गराउँदै स्वरलाई निखारे। यही क्रममा उनले गंगालाई बेलबटम बोलको गीत गाउने अवसर पनि दिए। अमृत भारतीको शब्द र रामकुमारकै संगीतमा बनेको यो गीतमा गंगासहित रामकुमार, अमृत भारती र सञ्चिता नेपालीको स्वर छ, जुन भारती पिक्चरले बजारमा ल्यायो। बेलबटम नै उनको पहिलो रेकर्डिङ भएको गीत हो, जसलाई हालसम्म २ लाख ४० हजारभन्दा बढी पटक हेरिएको/सुनिएको छ र यसको केही अंश टिकटक र फेसबुक रिल्समा पनि निकै चलेका छन्।
काठमाडौं आएको केही समयमै गंगाले आफ्नो प्रतिभा देखाउन ठूलो अवसर पाइन्। नेपालकै प्रतिष्ठित गायन प्रतियोगिता नेपाल आइडल को छैटौँ सिजनमा उनले अडिसन दिइन्। अडिसनमा गंगाले सुदूरपश्चिमेली देउडा भाका “डोली चढाई लैजान्या हो सुवा…” गाइन्।
सिन्धुपाल्चोककी एक युवतीले देउडा गाउँछिन् भन्ने कुरा सुरुमा निर्णायकलाई अचम्म लाग्नु स्वाभाविक थियो। किनभने सिन्धुपाल्चोकमा प्रायः आधुनिक, काठे लोकदोहोरी र तामाङ सेलो बढी सुन्ने गरिन्छ। देउडा भने सुदूरपश्चिम प्रदेशमा प्रचलित भाका हो। यिनै कारणले गंगाले नेपाल आइडलको स्टेजमा किन देउडा गीत गाइन् भन्ने प्रश्न उठ्न सक्छ। यसको उत्तर एउटै हो -रामकुमार नेपाली। गंगाले गाएको देउडा गीत रामकुमार नेपालीको दुःख र परिश्रमको परिणाम हो।
फलस्वरूप गंगाले संगीतको कुनै सीमा हुँदैन भन्ने कुरा आफ्नो प्रस्तुति मार्फत प्रमाणित गरिन्। न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी जस्ता निर्णायक उनको प्रस्तुति सुनेर छक्क परे, प्रशंसा गरे र छनोट पनि गरे।
गंगाको अडिसनको क्लिप सामाजिक सञ्जालमा भाइरल भयो। उनको सरल स्वभाव, लजालुपन र मौलिक स्वरले देश–विदेशका दर्शकलाई मोहित पार्यो। सिन्धुपाल्चोकका बासिन्दाले गर्वपूर्वक उनका भिडियोहरू सेयर गर्दै हौसला थपे।
पछि उनले तारादेवीको स्वर रहेको “साँघुरी बारी नि हो” गाएर पनि थिएटर राउन्ड पार गरिन्। “खेलौँला देउडा” र “साँघुरी बारी” जस्ता परम्परागत भाकामा उनले देखाएको आत्मीयताले नेपाली मौलिक संगीतप्रतिको प्रेम झन् गहिरो बनायो। त्यसपछिका दिनमा गंगाले आफ्नो स्वर र प्रस्तुति मार्फत क्रमशः दर्शक–श्रोताको मन जित्दै गइन्। धेरैले उनलाई अहिलेकी चर्चित गायिका रचना रिमालसँग तुलना गरे। निर्णायकहरूले उनलाई “भविष्यको लोकसंगीतको स्वर” सम्म भने। आइडलका निर्णायक गायक न्ह्यु बज्राचार्यले पनि कार्यक्रममै गंगालाई रचना रिमालसँग दाँज्दै भने, “पहिले यहाँ तिमीजस्तै रचना थिइन्। तिम्रो स्वर अर्गानिक नेपालीको जस्तो छ। त्यसलाई बचाएर राख्नु!”
नेपाल आइडलजस्तो सांगीतिक रियालिटी शोले नेपाली संगीत उद्योगमा नयाँ प्रतिभा खोज्ने र स्थापित गराउने माध्यमका रूपमा गंगाले आफूलाई प्रमाणित गरिन्। यस कार्यक्रममा प्रतियोगीले गायन मात्र होइन, स्टेजमा कसरी प्रस्तुत हुने, आत्मविश्वासका साथ गीत गाउने, मिडियासँग कसरी संवाद गर्नेजस्ता व्यावसायिक सीप पनि सिक्ने अवसर पाउँछन्।
लाखौँ दर्शक–श्रोताको माया, सिन्धुवासीको साथ, परिवारको सहयोग र आफ्नै अथक मेहनतका कारण गंगा अन्ततः नेपाल आइडल सिजन–६ की विजेता बन्न सफल भइन्। उनको जित मात्र व्यक्तिगत उपलब्धि होइन, सिन्धुपाल्चोक तथा देशकै गौरव बनेको छ।
गंगाको यात्रा गाउँबाट सुरु भई देशकै ठूलो रियालिटी शोको उपाधिसम्म पुगेको छ। उनले गाउँका प्रतिभाहरुलाई प्रमाणित गरिदिइन् कि, – सपना, परिश्रम र दृढताले जुनसुकै स्थानमा पुर्याउन सक्छ। पुग्न सक्छ। आज उनी धेरै युवाका लागि प्रेरणाको स्रोत बनेकी छन्।

प्रतिक्रिया दिनुहोस्