२०८२ कार्तिक २

नेपाल आइडल ६ को ताज गंगा सोनामलाई, उदाउँदैछिन् नयाँ संगीत सितारा

सिन्धुपाल्चोक | सिन्धुपाल्चोककी गंगा सोनाम नेपाल आइडल छैटौँ सिजनकी विजेता बनेकी छन् । आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्। इन्द्रावती गाउँपालिका–१०, बडहरेकी २० वर्षीया गंगा विद्यालय जीवनदेखि नै सङ्गीतप्रति उत्साही रहँदै आएकी थिइन् ।

गंगाले स्थानीय चण्डेश्वरी माविबाट कक्षा १२ सकाएकी छन् । साङ्गीतिक वातावरणमै हुर्किएकी उनले विद्यालयका कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै प्रतिभा देखाउँदै आएकी थिइन् । उनका दाइ दीपेन्द्र सोनाम पनि लामो समयदेखि संगीत क्षेत्रमा संलग्न छन् ।

नेपाल आइडलको अडिसनमा उनले गाएको देउडा गीत ‘डोली चढाई लैजान्या हो सुवा’ मार्फत निर्णायकहरूको मन जितेकी थिइन् । निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीले उनको स्वरको प्रशंसा गरेका थिए । थिएटर राउन्डमा गाएको ‘साँगुरी बारी नि हो’ गीतले उनलाई दर्शकसँग झन् नजिक बनायो । उनका प्रस्तुति सामाजिक सञ्जालमा भाइरलसमेत भएका थिए ।

गंगाले यसअघि ‘बेलबटम’ नामक गीतमा पनि आफ्नो स्वर दिएकी थिइन् । अब नेपाल आइडलको उपाधि जितेसँगै उनले नेपाली संगीत क्षेत्रमा नयाँ यात्राको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

सिन्धुपाल्चोककी ग्रामीण क्षेत्रकी साधारण युवतीबाट राष्ट्रिय स्तरको रियालिटी शोको विजेता बन्नु उनका लागि मात्र होइन, सम्पूर्ण जिल्लाको गर्वको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्