नरेन्द्रजंग पिटर
कुनै पनि देशको आकृति र अवस्था विश्वले नियालिरहेको हुन्छ । कार्यकारी राष्ट्रप्रमुखलाई देशवासीले नायक मानेर पछ्याइरहेका हुन्छन् । उसको सकारात्मक वा नकारात्मक भूमिका नयाँ पुस्ताले नायक मान्नसक्ने क्षमताको हुनुपर्छ । चन्द्रशेखर उपाध्याय र रंगनाथ जोशीले गरेको सुगौली सन्धिको प्रभाव हामी आज पनि भोगिरहेकै छौं ।
कार्यकारी राष्ट्रप्रमुखको भूमिकामा रहनुभएका हाम्रा प्रधानमन्त्रीको ठट्टा धेरै हुन्छ । ठट्टामा सत्यताभन्दा व्यंग्य अधिक हुन्छ । अहिलेका कार्यकर्ता र मतदाता फ्याक्ट–चेक गर्ने हैसियतमा एआई प्रयोगकर्ता भइसकेका छन् । यो बेला अंशमा टेकेर, मिथकलाई आधार बनाएर चिन्तनको संसारमा मनोरञ्जन गर्नु मनासिव हुँदैन । प्रधानमन्त्रीज्यू, तपाईं र म एउटै पुस्तका राजनीतिक सक्रियतावादी हौं । म तपाईंमाथि नै केन्द्रित भएर यस लेखमार्फत नेपाली समाजसँग संवाद गर्ने अनुमति चाहन्छु ।
आज मिडियाले प्रश्न सोध्नेभन्दा भक्तिगान गाउने बानी बसेको छ । आलोचनात्मक चेतना गलेर कर्कलाको डाँठजस्तो भइसकेको छ । आलोचना त स्यालको सिङझैँ हराइसकेको छ । समाज र लोकतन्त्रको बल नागरिक चेतना, विवेक र प्रश्न सोध्ने क्षमतामा निर्भर हुन्छ । विवेकलाई जीवित गर्न नसके लोकतन्त्र केवल जयगानको मेला बन्नेछ र नागरिक केवल हुकुमदास ।
यहाँले ‘जिम्मेवारी उठाउन सक्ने युवा पुस्ता नै छैन’ भन्नुभयो । के हाम्रो पुस्तापछि यो देशको जिम्मेवारी उठाउने कोही छैनन् त ? फ्रेन्च क्रान्तिपछि नेपोलियन सम्राट बने । संयोग थियो, फ्रेन्च क्रान्तिका नायक राब्सपियरे गिलेटिनमा चढे । लोकतान्त्रिक राजनीतिक संरचनामा पनि आलोचनालाई नष्ट गरिरहेको हुन्छ । समय फेरिन्छ, सत्य पनि त्यसै अनुरूप फेरिन्छन् ।
समाजशास्त्रीय मूल्यहरूले भक्ति र मौनतालाई प्राकृतिक बनाइरहेका हुन्छन् । मनोवैज्ञानिक डर र व्यक्तिगत स्वार्थले विवेक हराइरहेको हुन्छ । समाज मानिसहरूको भीडमात्र होइन, बरु विचार, मूल्य, स्मृति र विवेकको संयुक्त संरचना हो । तर जब समाज बोल्न छोड्छ, तब मानिस दासत्वमा डुब्छ । अनि सत्ता सर्वशक्तिमान् हुन्छ ।
आलोचना मृत्यु शड्ढयामा ढल्छ । युगको सबैभन्दा ठूलो त्रासदी नै यही हो । यो अवस्था आउनुको कारक विवेक र चेतना दुवैलाई मौन पार्ने अदृश्य व्यवस्था हो । इतिहासमा देखिन्छ– जबजब समाज आफ्नो प्रश्न सोध्ने शक्ति गुमाउँछ, त्यतिबेला अधिनायकवाद र क्लेप्टोक्रेसी (चोरतन्त्र) फस्टाउँछ । प्रश्न नसोध्ने जनता, आफ्ना दोष स्वीकार नगर्ने नेतृत्व, र आलोचनाप्रति सहिष्णु नहुने सत्ता, यी तीनवटै पक्ष मिल्दा विद्रोह अपराध ठानिन्छ र मौनतालाई अनुशासन ।
गफ, ठट्टा र भद्दा कटाक्षमा रमाउने संस्कृति विकास हुँदा चेतना भुत्तो हुन्छ । कार्यकर्ता अपराध देखेर आँखा चिम्लिन्छन् । बरु, जयगान गाउँछन् । नागरिकलाई दासमा रूपान्तरण गर्ने यो कुन तत्व हो भन्ने प्रश्न उठ्छ । आज हामी कतै त्यही युगको साक्षी त बनिरहेका छैनौं ? नयाँ प्रविधि, लोकतान्त्रिक भाष्य, संविधानका अनुच्छेद र अन्तर्राष्ट्रिय घोषणापत्रहरूले हामीलाई स्वतन्त्र र आधुनिक समाजको भ्रम दिन्छन्, तर वास्तविकता भिन्न छ ।
मान्छे र पशुबीचको भिन्नता विवेक र आलोचनात्मक चेत हो । जब यही विवेक क्षय हुन्छ, मान्छे स्वतन्त्र नागरिक होइन, मालिकको आदेश पालना गर्ने दास बन्न पुग्छ तब के हुन्छ ? यसले आलोचनात्मक चेतनालाई बन्धक बनाउँदै मानिसले आत्मीयता र भक्तिभावका नाममा आफ्नो स्वतन्त्र सोच सुम्पिन्छ । तर फेरि प्रश्न उठ्छ– के यो स्थिति नियति हो ? के समाज अनन्तकालसम्म मौन रहन्छ ? इतिहासले देखाएको छ, विवेकलाई स्थायी रूपमा दबाउन कस्तै शक्तिशाली सत्ताले पनि सक्दैन । जस्तोसुकै शक्तिशाली अधिनायकवादमा पनि आखिर असन्तोषको गर्जन जन्मिन्छ । विवेक पुनर्जीवित हुन्छ, आलोचनाको पुनर्जन्म हुन्छ, र दासत्वलाई अस्वीकार गर्ने चेतना जागृत हुन्छ ।
प्रश्नका चिच्याहट
विवेक किन हरायो ? आलोचना किन शत्रु ठहरिन्छ ? दासत्व कसरी संस्कारमा फेरिन्छ ? के मौन समाज फेरि बोल्न थाल्नेछ ? प्रश्न अनगिन्ती छन् । मानवको आत्मा, विवेक र आलोचनात्मक चेत पनि स्वतन्त्र हुनुपर्छ । जब ती तत्त्व दबाइन्छन्, तब मानिस केवल आदेशपालक प्राणीमा फेरिन्छ । यही मानसिक र सामाजिक प्रक्रिया दासत्वको मनोविज्ञान हो ।
लोकतन्त्रमा नागरिक भन्नाले स्वतन्त्र सोच, प्रश्न गर्ने क्षमता, र जिम्मेवारीसँग निर्णय गर्ने क्षमता हो । तर जब नागरिक सिद्धान्तहीनतामा प्रश्न उठाउँदैन र नेतृत्वको भजनमण्डलीमा फेरिन्छ, तब उसको परिचय ‘आदेशपालक’मात्र हुन्छ । नेताको निर्देशनमा मात्र चल्ने कार्यकर्ता व्यवहारमा दासको अर्को रूप हो ।
लोकतन्त्रको नाममा संसद्लाई संख्यात्मक बलको खेल बनाइन्छ भने संवैधानिक निकाय कब्जा हुन्छन् । राजनीतिक संरचनाले नै विवेकमाथि कुल्चन थाल्छ । हामीले बारम्बार देख्यौं– लोकतन्त्रका लागि सडकमा उत्रेका हजारौं युवाहरू सत्ता स्थापित भएपछि नेताको जयगान गाइरहेका छन् । आलोचना गर्ने साहस भएका नागरिक मौन रहेका छन् र कार्यकर्ताको चिन्तन दासत्वमा मात्र देखिएको छ । यही प्रक्रियाले आखिरमा समाजमा दास संस्कारको निर्माण गर्छ ।
मानिसहरू परिवर्तनकालमा साहसी हुन्छन्, तर स्थायित्वमा डरपोक बन्छन् । सडकमा नारा चिच्याउने वा विद्रोहकालमा कात्रो बोकेर रणमैदानमा गर्जने योद्धा पनि सत्ता स्थापित भएपछि लाभहानिको हिसाब गर्न थाल्छन् । ‘म बोल्दा मेरो रोजगारी गुम्छ’, ‘मेरो पहुँच हराउँछ’ भन्ने डरले बाचालहरू मौनतामा बदलिन्छन् । यही मौनता शक्तिशालीहरूको ढाल बन्छ ।
नेताहरू प्रायः आफूलाई ‘राष्ट्रिय बा,’ ‘राष्ट्रिय आमा,’ वा ‘राष्ट्रिय भाउजू’का रूपमा प्रस्तुत गर्दैछन् । यसले एउटा दासताको भावनात्मक सञ्जाल बनाउँदैछ – जहाँ नागरिकले आलोचना गर्नु गलत ठान्छ, नेतालाई प्रश्न गर्नु गद्दारी ठान्छ । भावनात्मक दासत्व दिमागलाई बन्धक बनाएर विवेकलाई मृत्युतुल्य बनाउँछ । व्यक्ति आफूलाई स्वतन्त्र प्राणी नभई नेताको कृपामा निर्भर प्राणी ठान्छ । यही भावनात्मक नियन्त्रण नै मौन समाजको प्रमुख आधार हो ।
जब शक्ति केन्द्र अजेय बनाइन्छ, त्यसमा प्रवेश गर्ने प्रयासकर्ताहरू थपडी मार्न, डिजिटल चाकरी गर्न, वा सामाजिक सञ्जालमा जयगान गाउन बाध्य हुन्छन् । प्रगतिको आधार र क्षमताको प्रतिस्पर्धा प्रशंसामा सीमित हुन्छ । यसलाई ‘सुरक्षाको भ्रम’ मानिन्छ । चाकरी गर्दा पुरस्कारको आशा, प्रश्न गर्दा डरले गर्दा मानिसको विवेक मर्दै जान्छ, र दास कार्यकर्ता जन्मिँदै जान्छन् ।
इतिहासदेखि डिजिटल युगसम्म दासत्वका रूप फेरिए तापनि गुण उस्तै रह्यो । रोमन साम्राज्यमा दासहरूको शरीर बाँधिन्थ्यो, तर मन स्वतन्त्र नै हुन्थ्यो । मध्यकालीन युगमा दासत्वलाई ईश्वरीय नियम ठहराइयो । त्यसले मानसिक कब्जा सुनिश्चित गर्यो ।
दक्षिण एशियामा जातव्यवस्थाले दासत्वलाई संस्कृति र धर्मको नाममा विवेक कब्जा गर्यो । आजको डिजिटल युगमा शारीरिक दास कम भए पनि कार्यकर्ताको मानसिक दासत्वमा फसेका छन् । सामाजिक सञ्जाल, मिडिया प्रचार, र डिजिटल चाकरीले आलोचनात्मक चेत थिचिएको छ ।
यसरी दासत्वको स्वरूप समयअनुसार फेरिँदै गए पनि विवेक त्यागेर मालिकप्रति अन्धभक्त हुने प्रवृत्ति फेरिएको छैन । सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि राजनीति व्यवसाय बन्यो । विवेकको क्षयीकरण हुँदै गयो । समाजको विवेक, मूल्य र चेतनालाई दिशा दिने राजनीति अपराध, स्वार्थ र अधिनायकवादमा डुब्यो । अनि राजनीति केवल सत्ता कब्जा गर्ने खेल मात्र रह्यो ।
संसदीय लोकतन्त्रको आधार संसद् हो । तर हाम्रो संसद् संख्यात्मक जोगाडको खेल मात्र बनेको छ । बहुमतले ल्याएको निर्णय चाहे नैतिक होस् या नहोस्, त्यसलाई वैध ठानिन्छ । सांसदहरूले आफ्नै विवेक प्रयोग नगरी पार्टी ह्वीपअनुसार निर्णय गर्छन् । संसद्लाई विचारको ठाउँ होइन, संख्यात्मक बलको हतियार बनाइँदा नागरिकहरूको विवेक दबाइन्छ । संख्यात्मक बलको तानाशाही बनेपछि लोकतन्त्रको उपहास हुन्छ ।
संवैधानिक निकाय नै कब्जामा परेपछि कार्यकारी मैमत्त हुन्छ । संविधानले स्थापित गरेका निकाय– अख्तियार, मानव अधिकार आयोग, लोकसेवा आयोग, न्याय परिषद् त सत्ता विस्तारका औजार बने । अख्तियार प्रमुख नै आरोपको घेरामा हुँदा पनि प्रश्न उठ्दैन, किनभने पार्टीभित्र आलोचना निषेध छ । यसले न्याय र कानूनप्रति नागरिकको विश्वास हराउँछ । न्यायालय सत्ताको आदेशपालक बन्यो भने ठूला मुद्दाहरू राजनीतिक दबाबमा निर्दोष ठहरिन्छन् ।
भ्रष्टाचारलाई कानूनी प्रक्रिया पूरा गरेरै वैध देखाइन्छ । अपराध ‘ड्राइ–क्लिनिङ’ भई वैध बन्छ । यसले नागरिकहरू मौन र कार्यकताहरू आदेशपालक बन्न बाध्य हुन्छन् । पार्टीभित्रको अधिनायकवाद बढ्दा विधानको औचित्य रहँदैन ।
विधान महाधिवेशन, महाधिवेशन भनेका नेताका मनोकांक्षा पूरा गर्ने थपडीथलोमा फेरिन्छन् । पार्टीभित्र नेता ‘राजा’ जस्ता हुँदा आलोचना गर्नु अपराध ठहरिन्छ । यस अवस्थामा सांसद, कार्यकर्ता र बुद्धिजीवी सबैको विवेक खोपीमा थन्क्याएर रोबोट बन्न पुग्छन् । तर यो अवस्था सधैं रहँदैन, भूमरी उठेर त्यो सब भत्काइदिन्छ ।
किनभने मानव समाज केवल राजनीतिक संरचना र कानूनको संग्रह मात्र होइन, यो विश्वास, भावना, सामाजिक बन्धन र सांस्कृतिक प्रवृत्तिको जटिल जाल हो । तर भक्तिवाद र मानसिक कब्जा जनतालाई आलोचनात्मक सोचमा साङ्ला लगाइदिन्छ । नेता ‘उद्धारकर्ता’ वा ‘अवतार’को रूपमा प्रस्तुत हुँदा आलोचना अपराध ठानिन्छ ।
सामाजिक मूल्यहरू ‘भक्ति संस्कृतिमा’ आधारित भएमा समाज प्रश्न सोध्नेभन्दा ‘जय–जय’ गाउनेतिर जान्छ । मिडिया र बौद्धिकवर्गले यसलाई अझ मजबुत पार्छन् । आलोचना गर्ने आवाजलाई ‘देशद्रोही’ वा ‘नकारात्मक सोच’ भनेर खारेज गरिन्छ ।
अन्त्यमा, के यो शक्तिको बीभत्स मनोवृत्ति र सत्ताको मनमौजीपन सधैं समाजले स्वीकारिरहन्छ ? स्वीकार्दैन । तब त चुनाव, विद्रोह वा क्रान्तिबाट छुटकारा पाइन्छ । त्यसका लागि इतिहासले दिएको तितो शिक्षा ग्रहण गर्न विवेक, चेतना र आलोचनात्मक क्षमता बढाउन आवश्यक छ । यसले मात्रै मौन समाजले बनाएको अधिनायकवाद फेर्न सक्छ ।
यसका लागि नागरिक शिक्षा र आलोचनात्मक सोचको प्रवर्द्धन; स्वतन्त्र मिडिया र विश्लेषणात्मक रिपोर्टिङ; पार्टी र राजनीतिक संरचनामा लोकतन्त्र सबलीकरण; सामाजिक जागरूकता अभियान चलाउनुपर्छ । प्रधानमन्त्रीज्यू आउनुस् बहस र भूमिकामा उत्रिऔं ।
प्रतिक्रिया दिनुहोस्