नवराज दाहाल
सानै उमेरदेखि मलाइ देश, राजनीति र समाजका विषयमा चासो राख्ने बानि परेको छ । अहिले परदेशी भूमिमा पढाइ र कामको व्यस्तताबीच पनि फुर्सद मिलाएर देशमा भइरहेको घटना परिघटनालाई ध्यान दिएर बुझ्ने प्रयास गर्छु। हरेक पार्टीका नेताहरूको गतिविधि, तिनका कार्यकर्ताका धारणा, सामाजिक सञ्जालमा हुने बहस र अहिले नयाँ भनेर आएका पात्रहरूको काम र बोलीलाई म चासोपूर्वक हेर्ने गर्छु। सामाजिक सञ्जालमा देखिने नेताहरूका अभिव्यक्ति, दलका कार्यकर्ता र युवाहरूका बहस, अनि सरकारको व्यवहार हेरिरहँदा हाम्रो देशको वास्तविकता अझ प्रष्ट देखिन्छ।अनि सरकारले देखाउने रवैयाले स्पष्ट देखाउँछ कि हाम्रो देशमाथि विदेशी शक्तिशाली राष्ट्रहरूको प्रभाव अझै पनि गहिरो छ। परदेशमा बसेर पनि धेरै नेपालीले देश र राजनीतिप्रति रुचि राख्छन्, तर उनीहरूको बहस र बुझाइ कतिपय अवस्थामा सतही मात्र देखिन्छ। यतिखेर हाम्रो संसददेखि सडकसम्म, सञ्जालदेखि सञ्चारसम्मको बहस एकैजनामाथि केन्द्रित भएको छ ।रवि लामिछानेमाथि उनी निर्दोष हुन् वा दोषी, त्यसको छिनोफानो प्रमाण र तथ्यका आधारमा अदालतले गर्ने हो। यदि अदालतमाथि नै विश्वास छैन भने, जनता कसलाई बिस्वास गर्ने? यहीँ ठाँउमा समस्या छ। एउटा व्यक्तिको विषयलाई लिएर यति ठूलो बहस गर्नु नै अनावश्यक हो जस्तो लाग्छ। यदि न्याय नभएको ठानिन्छ भने, त्यसको भण्डाफोर संस्थागत रूपमा हुनुपर्छ, न कि व्यक्तिकेन्द्रित र भावनात्मक तर्कले। प्रतिशोधको कारणले उनलाई यस अवस्थामा पुर्याइएको भए पनि, उनीबाहेक अरु युवा छैनन्, उनीबिना देश अघि बढ्न सक्दैन भन्ने सोच पनि खतरनाक हो। एक व्यक्तिको पतन वा उदयले मात्र मुलुक चल्दैन, परिवर्तन पनि हुँदैन सोच्नु गलत छ। रवि मात्र होइनन्, त्यस्ता हजारौँ युवा जन्मिने छन्, नयाँ आउने छन्, नेतृत्व सम्हाल्ने छन्। अहिलेको समस्या बहसको दिशामा छ। हाम्रा बहस प्रायः सतही छन्। नेताले कहाँ कति भ्रष्ट्र्चार गर्यो, कसले कहाँ गलत गर्यो भन्ने कुरा बजारमा हल्ला त हुन्छ, तर त्यसलाई संस्थागत प्रश्नमा रूपान्तरण गर्ने परिपक्वता छैन। युवाहरू नेताको विमानस्थल आगमन–प्रस्थान उनिहरुको बिभिन्न कार्यक्रम मा पछ्याएर रमाउँछन्, तर देशमा उत्पादन कसरी बढाउने, स्रोत र साधनको उचित उपयोग कसरी गर्ने भन्ने विषयमा गहिरो बहस गर्दैनन्। संसदमा लाखौँ करोडौँको बजेट बाडफाँड देखाएर नेताले प्रचार गर्छन्, तर त्यस बजेट कार्यान्वयनमा हुने भ्रष्टाचार र अनियमितता खोज्ने संस्कार छैन।
पुराना नेताहरूले आन्दोलन, युद्ध र क्रान्ति गरेर देशलाई यहां सम्म ल्याएका छन्, तर तिनको रबैया पहिले गरेका परिणाम भजन गाएर आजको कुशासन, भ्रष्टाचार र निराशा पैदा सिर्जना गरेका छ्न। ती नेताबाट न त आशा बाँकी छ, न विश्वास। अब युवाले पुराना नाराभन्दा फरक बाटो रोज्नुपर्छ व्यवहार र संस्कारमा नयाँपन ल्याउनुपर्छ। नेताको पूजा गरेर वा झुटलाई सत्य देखेर बस्ने हो भने परिवर्तन कहिल्यै सम्भव हुँदैन। देशलाई अगाडि बढाउन आज आवश्यक कुरा के हो भने युवाले आफैँ शुद्ध रहनु, गलतलाई गलत देख्ने र भण्डाफोर गर्ने साहस गर्नु। हरेक पार्टीभित्रै आफ्ना नेताहरू कसरी सम्पन्न भए, कुन बाटोबाट सम्पत्ति जोडे, त्यो खोजी गर्न सक्ने आँट गर्नु। माफिया, दलाल र भ्रष्टाचारको संरचना खुलमखुल्लै चलिरहँदा चुपचाप बस्ने होइन, बहिष्कार गर्ने हिम्मत गर्नु। युवाले सुरु गरेनन् भने परिवर्तन सम्भव हुँदैन। देशले आज आवश्यक परेको कुरा नेतृत्वमा नयाँ अनुहार मात्रै होइन, सोचमा नयाँपन हो। एउटाको पक्ष–विपक्षमा लागेर समय खेर फाल्ने होइन, देशलाई आत्मनिर्भर कसरी बनाउने, उत्पादन कसरी बढाउने, स्रोत र साधन कसरी सदुपयोग गर्ने भन्नेतर्फ ध्यान दिनु हो।
बजेट बाडफाँड देखाएर नेता लोकप्रिय भए पनि, वास्तविक विकास त त्यसको सही कार्यान्वयन र पारदर्शितामा छ। त्यसैले, युवाले अब नेताको प्रचारको पछि लाग्ने होइन, नेताको काम र सत्यको खोजी गर्ने संस्कार विकास गर्नैपर्छ। देश परिवर्तन संस्थागत सुधार र सांस्कृतिक रूपान्तरणबाट मात्र सम्भव हुन्छ। व्यक्तिको आगमन वा पतनले होइन, संस्कारको रुपान्तरणले मुलुक अगाडि बढ्छ। यदि युवाले आजै बाटो समाते भने, भोलि मात्र होइन, भविष्य पनि सुरक्षित हुन्छ। तर यतिबेला देशको गरिमामय सदनमा जनताका प्रतिनिधिबाट देश विकासका सवालमा गहन छलफल, नीति निर्माणको असल अभ्यास, भावी पुस्तामा ईमान्दारी र अनुशासनको शिक्षा हस्तान्तरण हुनु त कता हो कता! माननीयज्यूहरूको सधैंभरि देखिने प्रतिशोधको दोहोरी र वितण्डा देख्दा कुन ईमान्दार युवा यही देशमा बस्छु, यहीँ उद्योग–व्यवसाय गर्छु भन्छ होला? पञ्चायत, प्रजातन्त्र र गणतन्त्रजस्ता सबै प्रणाली भोगेका पुस्ताले नै राजनीतिप्रति वितृष्णा महसुस गरिरहेको बेला, इमानदार र शिक्षित युवा पुस्ताले के सोच्लान? एक पटक मात्र भए पनि सबैले देशलाई सम्झेर असल र ईमान्दार बन्न सके भने मात्र यो देशले साँच्चिकै नयाँ बाटो समात्न सक्छ।
प्रतिक्रिया दिनुहोस्