सिन्धुपाल्चोक, भदौ ५ । चौतारा साँगाचोकगढी नगरपालिका नगर महिला सञ्जालले यस वर्षको हरितालिका तीज विशेष कार्यक्रममार्फत रेडियो सिन्धुलाई सहयोग गर्दै धुमधामका साथ मनाएको छ ।
नगरपालिकाका १४ वटै वडाका महिलाहरू चौतारास्थित स्मृति भवनमा भेला भई नाचगान, सांस्कृतिक प्रस्तुति र सामूहिक भोजसहित तीज उत्सव मनाएका थिए । सो अवसरमा गत असार २४ गते चट्याङबाट क्षति पुगेको रेडियो सिन्धुलाई सञ्जालले दश हजार रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशसभा सांसद अमृता नेपालले विगतमा तीज केवल केही समुदायमा मात्र सीमित भए पनि अहिले सबै जातजातिले मिलेर सामूहिक रूपमा मनाउने परम्परा सुरु भएको बताइन् । उनले विगतमा महिलाले मात्र श्रीमानको दीर्घायुका लागि व्रत बस्ने प्रचलन रहे पनि अहिले श्रीमानहरूले पनि श्रीमतीको दीर्घायुका लागि व्रत बस्ने संस्कार बढिरहेको उल्लेख गरिन् ।
सांसद नेपालले तीज पर्वका नाममा देखिएका विकृति र विसंगति हटाउन महिलाहरू स्वयं सक्रिय हुनुपर्नेमा जोड दिँदै समाजमा महिला नेतृत्वको भूमिका अझै बढाउन आवश्यक रहेको बताइन् । गठबन्धनको नाममा महिला नेतृत्व घटाइएको भन्दै उनले महिलालाई प्रत्यक्ष निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गरिन् ।
सञ्जालकी अध्यक्ष जानुका पराजुलीले वर्षभर आफ्ना काममा व्यस्त हुने महिलाहरूलाई एउटै ठाउँमा भेला भएर तीज मनाउन पाउँदा खुसी लागेको बताइन् । उनले आगामी दिनमा सामाजिक कार्यसँगै महिलाको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्