२०८२ भाद्र १३

चौतारामा बालबालिका संवेदनशील पत्रकारिता सम्बन्धि दुई दिने तालिम सम्पन्न

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका–चोैतारामा साउन ३१ गतेदेखि  भदौ १ गतेसम्म “विद्यालयस्तरमा लैङ्गिक हिंसा (GBV) तथा बालबालिकासम्बन्धी विषयमा नैतिक पत्रकारिता” विषयक दुई दिने तालिम सम्पन्न भएको छ।

टुकी एसोसिएसन सुनकोशीको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा सम्पन्न तालिममा पत्रकारहरुलाई विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा सम्बन्धी मुद्दाहरूलाई संवेदनशीलतापूर्वक प्रस्तुत गर्ने, बालबालिकाको अधिकार र सुरक्षालाई प्राथमिकता दिने तथा समाचार संकलन र प्रकाशनमा नैतिकता अपनाउने बारेमा प्रशिक्षण दिइएको थियो।

तालिममा सहभागीहरुलाई घटनासँग सम्बन्धित अध्ययन केस प्रस्तुत गर्ने, समुदाय र नीतिगत तहमा वकालत गर्ने र समाचारको प्रभाव मूल्याङ्कन गर्ने सीप प्रदान गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले पत्रकारिताले समाज परिवर्तनमा ठूलो भूमिका खेलेको बताउँदै विद्यालयमा हुने लैङ्गिक हिंसा रोकथामका लागि जिम्मेवार र नैतिक पत्रकारिता अपरिहार्य भएको उल्लेख गरेका थिए।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा तालिमका विज्ञ धर्मेन्द्र झाले सहभागी पत्रकारलाई समाचार तयार गर्दा पीडित बालबालिकाको सुरक्षा, मर्यादा र गोपनीयता जोगाउन विशेष ध्यान दिन आग्रह गर्दै तथ्यमा आधारित र संवेदनशील समाचार नै समाजलाई सही दिशामा लैजाने बताए।

त्यस्तै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले यस प्रकारका तालिमले स्थानीय पत्रकारलाई दक्ष र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै टुकी एसोसिएसन सुनकोशीका लाई यस महत्त्वपूर्ण कार्यक्रममा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्