सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी र भैरवकुण्ड दुबै धार्मिक महत्व बोकेका साहसिक र सुन्दर पर्यटकीय गन्तव्य हुन् । मुलुकमा मात्रै नभई यी दुई गन्तब्य विदेशमा पनि चर्चामा छन् । र, त हरेक वर्ष विदेशी पर्यटकलेसमेत भरिभराउ हुने गर्दछ पाँचपोखरी र भैरवकुण्ड ।
अहिले जनै पूर्णिमा नजिकिएको छ । यी दुवै गन्तव्यमा जाने तीर्थालुहरु बाटैभर भेटिन्छन् । केही पुगेर फर्किसकेका छन् भने केही गन्तव्यनजिक छन् ।
पाँचपोखरी समुन्द्रसतहदेखि चार हजार एकसय र भैरवकुण्ड चार हजार दुई सय मिटरको उचाइमा छ । यसकारण गन्तव्यमा पुग्न तीर्थालुलाई तीन दिनसम्म लाग्छ । दुवै हिमाली गाउँ भएकले तीर्थालुलाई पहिलो समस्या सुरक्षाको हुन आउँछ ।
सुरक्षाका लागि स्थानीय प्रहरी प्रशासन, स्थानीय समिति अनि स्थानीय सरकारले कत्तिको जिम्मेवारी बोध गरेको भन्ने प्रश्न यहाँ खडा हुन्छ । अहिले यी दुवै गन्तव्यमा पुग्न बीच बाटोमा बास बस्नुपर्ने अवस्था छ । पक्की घर खासै नभेटिने हुँदा चौरी गोठहरुमा बास बस्न पर्ने अवस्था हुन्छ । यो सिजनमा स्थानीयहरुले तीर्थालुका लागि सेवा दिनका लागि ठाउँ ठाउँमा होटल, पसल राखेका हुन्छन् ।
यो अवस्थामा सिन्धुपाल्चोकको पाँचपोखरी र भैरवकुण्डमा जनै पूर्णिमामा जाने तीर्थालुलाई होटल व्यवसायी र स्थानीयले के कस्तो व्यवहार गरेका छन् त्यो स्थानीय सरकार र स्थानीय प्रशासनले निगरानी गर्नु पहिलो कर्तव्य र जिम्मेवारी भएको देखिन्छ ।
अर्काे शब्दमा भन्नुपर्दा मेलाको अवसरमा तीर्थालुहरु ठगिईरहेका पनि हुनसक्छन् भने सरसफाईको प्रश्न पनि उब्जिन सक्छ । उसो त ठग्ने भन्ने विषय सामाजिक, नैतिक र कानुनी दृष्टिले पनि महत्वपूर्ण छ । यद्यपि “ठग्ने“ भन्ने शब्द नकारात्मक छ, यस्ता गतिविधिहरू वास्तवमै कतिपय ठाउँमा देखिन्छन् र ती गैरनैतिक तथा अनुचित मानिन्छन्।
यहाँ जनै पूर्णिमाको समयमा होटल व्यवसायीहरूले तीर्थालुलाई अन्यायपूर्वक फाइदा उठाउने सम्भावना रहन्छ । मूल्य कृत्रिम रूपमा बढाउने गरेको गुनासो यसअघिका मेलाहरुमा बाक्लै सुनिएको विषय हो । उसो त व्यवसायीले पनि तीर्थालुलाई लामो ठाडै उकालो बाटो बोकेर ल्याएको भन्नेजस्ता अभिव्यक्ति दिने गर्दछन् । र, त्यतिबेला त्यहाँ तीर्थालुले जति भन्यो उतिमै किनेर खानुपर्ने बाध्यता आउँछ । यो अवस्थामा स्थानीय सरकार र प्रशासनले अनुगमन गरेर मेहनत हेरि सामानको मूल्य निर्धारण गर्न जरुरी छ ।
सामानसँगै जनै पूर्णिमाको बेला अचानक कोठाको मूल्य दोब्बर–तेब्बर बनाएको पनि हुन सक्छ । यो त्यहाँका लागि सामान्य पनि हुनसक्छ । तर, तीर्थालु मेलाको अवसरमा ठगिनु हुँदै भन्ने हो । सामान्य दिनमा पाँच सय देखि १००० पर्ने कोठा त्यतिबेला दुई हजार देखि माथिमा दिइरहेको पनि हुन सक्छ । अन्य बेला दिइने सुविधाहरु कटौती भएको पनि हुन सक्छ ।सेवाको गुणस्तर घटाई तीर्थालुलाई मौकाको फाइदा लिइरहेको अवस्थामा स्थानीय सरकारले ठगिनबाट जोगाउन पहल गर्नुपर्ने अहिले तत्कालको आवश्यकता हो ।
सरसफाईमा लापरवाही भएको हुनसक्ने हुँदा पानीको गुणस्तर जाँच्ने व्यवस्था गरिनु, होटलमा तातोपानी, तौलिया, बेडजस्त सामग्रीहरुके निरीक्षण गर्न ढिला भइसकेको छ । अत्यधिक भीड भएको कारण देखाएर आधारभूत सेवामा कन्जुस्याई गर्ने गरेको पनि अवस्था आउन सक्छ । जस्तै “भक्तजन प्याकेज” भनेर विज्ञापन गरे पनि पछि कर, खाना, नास्ता आदि छुट्टै लिनु पर्ने भनी पैसा असुल गर्ने,भक्तजनलाई विकल्प नै नदिई अनावश्यक महँगो खाना मात्र उपलब्ध गराउने भएको छ या छैन आजै हेरिनुपर्ने तत्कालको आवश्यकता हो । साधारण खाना (जस्तै ढिँडो, तरकारी) पनि अत्यधिक मूल्यमा बेच्ने, हिमाली भेगका उत्पादनलाई चर्काे शूल्क लिने गरेको पाइनु पहिलेदेखिकै उदाहरण हो । यसमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्दछ ।
यस्तो पनि हुन सक्छ कि स्थानीय व्यवसायीले डरलाग्दो प्रचार वा अफवाह फैलाएर डर देखाउने गरेको । यो कसरी भने नजिकै सुरक्षा निकाय नहुँदा यस्ते क्रम बढ्न सक्छ । अधिकांश जंगलका बाटो पदयात्रा गर्नुपर्ने भएकाले छेऊ छेऊमै बासस्थान हुँदैन । यस्ते हुँदा एउटा बासस्थान छाडेर जान लागेका तीर्थालुलाई “छेउका होटलहरू भरिसके, हाम्रो मात्र खाली छ” भन्दै जबर्जस्ती महँगो सेवा बेचेको वा जंगली जनावरको त्रास देखाएर आफ्नैमा बस्नुपर्ने बाध्यता बनाइएको पनि हुनसक्छ ।
भाषिक वा सांस्कृतिक भिन्नता भएको कारण गलत जानकारी दिएर पैसा असुल गर्ने, अनावश्यक रुपमा अल्मल्याउने अनि बासस्थान या खाजा खान ठाउँ नजिकै भएपनि निकै टाढा छ भनेर बनिदिने गरेको पनि उदाहरण पहिलेदेखि नै सुन्नमा पाइन्छ ।
के हुनसक्छ समाधान
तीर्थालु तथा पर्यटकले आफू जाँदै गरेको स्थानबारे सबै स्थानको पहिले नै जानकारी लिनुपर्छ । होटलको अवस्था, मूल्यबारे पहिल्यै आफू जानकार भए ठगिन सकिँदैन । समूहमा जानु, एकल यात्रामा अलमल हुने सम्भावना बढी भएकाले स्थानीय गाइड वा विश्वसनीय स्रोतको सहयोग लिनु जरुरी हुन्छ ।
स्थानीय सरकार र प्रशासनले के गर्ने ?
मेलामा जाने तीर्थालुहरु ठगिनु, लुटिनु, व्यर्थ आइएछ भनेर तीर्थाुले अभिव्यक्ति दिने क्रम बढेपछि स्थानीयलाई नै घाटा हो । मेला व्यवस्थित बनाउन स्थानीयको जति भूमिका अरुको हुँदैन । यसर्थ पर्यटकलाई पारदर्शितामा विश्वास दिलाउन सक्नुपर्छ । जस्तो कि मूल्य पहिले नै देखाउने, थप सेवाको बारेमा स्पष्ट भन्ने, पाहुना देउता हुन् भनेर व्यवहार गर्ने स्थानीयको काँधमा हुन्छ ।
स्थानीय सरकारले यसका लागि पहिलो जिम्मेवारी लिनुपर्दछ । पर्यटकका सेवाका लािग ठाउँठाउँमा स्वयमेवक राख्न्े, प्राथमिक उपचारको व्यवस्था गर्ने, होटल व्यवसायीलाई, धर्मप्रेमीहरूको लागि सस्तो प्याकेज दिने, हरेकको मूल्यसूची राख्न लगाउने, पर्यटकलाई विश्वास सिर्जना गर्ने वातावरण गराउने अनि भविष्यमा दोहोरिने ग्राहक बनाउने प्रयास गर्ने नै स्थानीय व्यवसायीको व्यवहार हुनुपर्छ ।
हामी भन्छौ -जनै पूर्णिमा जस्तो धार्मिक पर्वमा लाभ कमाउनु आपत्तिजनक होइन, तर भक्तजनको भावनामा खेली ठगी गर्नु गम्भीर नैतिक अपराध हो। यस्तो कार्यले पर्यटनको प्रतिष्ठा पनि गिराउँछ।
प्रतिक्रिया दिनुहोस्