२०८२ भाद्र ११

मेलम्ची नदीमा जलसतह बढ्दै, बाढी र पहिरोको जोखिम : सतर्क रहन आग्रह

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतह सतर्कता तह पार गरेको छ। नाकोटे जलमापन केन्द्रका अनुसार नदीको पानीको बहाव निरन्तर बढ्दो क्रममा छ। बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले विशेषगरी नदी किनारका क्षेत्रहरूमा बाढीको सम्भावना रहेको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम उच्च भएकाले सावधानी अपनाउन आग्रह गरेको हो।

हाल देशभर मनसुनी प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको केही उत्तरतर्फ सरेको हुँदा अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहेको छ।

मधेस प्रदेशका केही भाग, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षा अझै केही दिन कायम रहने पूर्वानुमान रहेकाले जलस्रोत नजिक बसोबास गर्नेहरूलाई अझ बढी सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्