नवराज दाहाल
आफ्नो देश, आफ्नो माटो, मातृभूमिका यस्ता तस्बिरहरू हेर्दा मन भकानिन्छ, निद्रा हराउँछ। कहिले काँही लाग्छ, यो देश कसको हो? किन यति धेरै वेवास्ता भोग्नु परेको छ? देशका धनी वर्ग र नेताहरूलाई यी दृश्यले कुनै फरक पार्दैन। मध्यम वर्गले सोच्न चाहँदैन, अनि गरीब वर्गसँग त सोच्ने फुर्सद नै छैन—उनीहरू त दिनरातको पिसाबमै जीवन धान्न व्यस्त छन्। भविष्यको चिन्ताले थिचिएका छन्।
सोध्न मन लाग्छ—देशको अवस्था सुधार्ने जिम्मेवारी कसले लिने? राजनीति गर्नेहरू? उनीहरूलाई त आफ्नो विलासी जीवनमै सन्तुष्टि छ। महँगा महल, विदेशमा पढिरहेका छोराछोरी, अनि राति महँगा मदिरामा डुबेर निद्रा। देश डुब्दा पनि उनीहरूलाई केही लाग्दैन, बरु माफियासँगको सहकार्यमा आफ्नै सम्पत्ति बढाउने ध्याउन्नमा छन्।
देशको यो अवस्था देखेर विदेशिएका हामी युवाहरू भित्रभित्रै पोलिन्छौं। के सधैं अरूकै देशमा श्रमिक भएर बाँच्नुपर्ने हो? हाम्रो पसिना, तागत र बुद्धि अरूकै देशको समृद्धिमा लगाएर हामी आफ्नो देशलाई सधैं पछाडि पार्दै जानुपर्ने हो?
सामाजिक सञ्जाल खोल्दा हरेक दिन दर्जनौं युवाहरू विदेशिने दृश्य देखिन्छ। गाउँका युवाहरू, शिक्षित पुस्ता सबै टाढिँदै छन्। देशको राजनीतिक अवस्था दिनप्रतिदिन खस्कँदो छ। कुशासनले देश चुर्लुम्मै डुबिसकेको छ। हरेक क्षेत्रमा माफिया र दलालहरूको चलखेल हाबी छ। भ्रष्टाचारले राजनीतिक नेतृत्वलाई घेरिएको छ। यस्तो अवस्थामा देश कहिले सम्हालिन्छ? हामीले देखेको ‘सपना जस्तो नेपाल’ कहिले बन्छ?
शहरको उज्यालो सपना पछ्याउँदै गर्दा गाउँ कताकता हराउँदै गयो। जहाँ कहिल्यै नरोकिने हाँसो थियो, आज त्यहाँ मौनता छाएको छ। विदेश जाने सपना, छोराछोरीलाई अंग्रेजी स्कूलमा पढाउने गर्व, काठमाडौंमा गाडी थन्क्याउने रहर—यी सबैले एक महत्वपूर्ण कुरा बिर्सिए—आफ्नो देश, आफ्नो माटो, आफ्नै मातृभूमि।
छोराछोरी विदेशिए, बुबाआमाको चौतारी सुनसान भयो। ती पुराना घरहरू अब फोटोका फ्रेममा मात्रै सीमित हुन थालेका छन्। गाउँ खाली हुनुको दोष केवल रहरमा छैन, बरु बेरोजगारी, योजनाविहीन राज्य व्यवस्था र राजनीति प्रतिको गहिरो निराशा पनि त्यसको मूल कारण हुन्।
सस्तो सपना पछ्याउँदै गर्दा हामीले गाउँको गन्ध, आमाबुबाको माया, पुराना घरको ओत, खेतको हरियाली सबै बिर्सिंदै गएका छौं। आज ती घरहरू खाली छन्, खेतहरू बाँझो छन्, गाउँ मौन छ।
डर लाग्छ—भोलि कहीं सिंगो देश नै यस्तै सुनसान नहोस्। तर आशा मरेको छैन। हिजो जन्मिएको माटोबाट टाढा जानुपरे पनि, फर्कने बाटो खुला राख्नुपर्छ। त्यही बाटोले देशलाई जोगाउँछ। गाउँ फेरि हाँस्नेछ, चौतारीहरू फेरि गुञ्जिनेछ। अनि त्यही दिन सुरु हुनेछ—नयाँ नेपाल निर्माणको यात्रा।
प्रतिक्रिया दिनुहोस्