काठमाडौं — कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ…’ को मञ्चन भइरहेको छ। सर्वनाम रंगमञ्चको २१ औं ब्याचका प्रशिक्षार्थीहरूको लेखन तथा निर्देशनमा तयार गरिएको यस नाटकमा प्रशिक्षार्थी कलाकारहरूको सहभागिता रहेको छ।
नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाईं, मनोज बोहरा र पवन थापा लगायत कलाकारहरूले अभिनय गरेका छन्।
‘जब फूलले आकार लिन्छ…’ सुन्दरता, खुशी र समाजका परिभाषाहरूलाई भित्री दृष्टिकोणबाट पुनः व्याख्या गर्ने कथा हो। यस नाटकमा दुई समानान्तर पात्रहरू — एकातर्फ प्रकृतिसँग रमाउन चाहने रानीफूल र अर्कोतर्फ समाजद्वारा अपहेलित चित्रकारको भोगाइ प्रस्तुत गरिएको छ।
रानीफूल मन्दिरमा चढाइनु अघि आफ्नो स्वतन्त्रताको लागि आवाज उठाउँछिन् भने चित्रकारले कुरुप भनिएको अनुभवले प्रेरित भएर सुन्दर चित्रहरू कोर्न थाल्छ। यी दुई पात्रहरूको संघर्ष, जीवनको खोजी र समाजसँगको अन्तरक्रियाबाट नाटकको कथावस्तु बुनेको छ।
नाटकले भित्री सौन्दर्य र आत्मखुशीको खोजीलाई मुख्य विषय बनाएको छ। दृश्य विन्यासमा मितव्ययी रंग दर्शनलाई प्राथमिकता दिइएको छ।
सर्वनामले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको तीनमहिने रंगप्रशिक्षण कार्यक्रमको उपजस्वरूप तयार पारिएको यो नाटक ‘ध्यानाभिनय’ सिद्धान्तमा आधारित छ, जुन सिद्धान्तको प्रशिक्षण चर्चित नाटककार अशेष मल्लले दिँदै आएका छन्।
नाटक साउन १८ गतेसम्म हरेक दिन साँझ ५:१५ बजे र शनिबार अतिरिक्त रूपमा दिउँसो १ बजे मञ्चन हुँदैछ। बिहीबार भने मञ्चन हुने छैन।
प्रतिक्रिया दिनुहोस्