सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु गरिएको छ। स्वास्थ्य सेवा पहुँचलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सुरु गरिएको उक्त सेवा भक्तपुर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरिएको हो। प्रारम्भिक चरणमा सफल परीक्षण सम्पन्न भइसकेको छ।
प्रदेश स्वास्थ्य मन्त्री किरण थापाको प्रस्तावमा गाउँपालिका अध्यक्ष टासी लामाको निर्देशनअनुसार सेवा सञ्चालनमा ल्याइएको हो। अब गाउँपालिकाका बासिन्दाले भक्तपुर अस्पतालका विशेषज्ञ चिकित्सकहरूबाट प्रत्यक्ष रूपमा परामर्श प्राप्त गर्न पाउनेछन्।
परियोजनाको सफल सञ्चालनमा प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम, उपचारात्मक सेवा महाशाखा प्रमुख डा. खगेश्वरे गेलाल, जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईं, भक्तपुर अस्पतालका चिकित्सकहरू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल, सूचना प्रविधि शाखाका प्रतिनिधि लगायतका निकायहरूको सक्रिय भूमिका रहेको सूचना प्रविधि अधिकृत नारायण क्षेत्रीले जानकारी दिए।
गाउँपालिकाले यो सेवाबाट दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरेको छ। टेलिमेडिसिन सेवा ग्रामीण भेगमा स्वास्थ्य सेवा विस्तारको महत्वपूर्ण कदम मानिएको छ।
प्रतिक्रिया दिनुहोस्