२०८२ कार्तिक २

सत्ताको वृद्धाश्रम चरित्र र क्रान्तिको मृतात्मा

जन आस्था साप्ताहिक

नेपाली राजनीतिक सत्ता संरचना अहिले दुई यथार्थको चक्रव्यूहमा फसेको छ— एकातिर जेरेन्टोक्रेसी, अर्थात् पुराना, थकित तर सत्तालिप्सा नछोड्ने नेतृत्वको पकड; अर्कोतिर क्लेप्टोक्रेसी अर्थात् भ्रष्टाचार, आफ्नोपन र अनियमिततामा आधारित लुटतन्त्र ।

राजनीतिमा पुराना दाउ अरूले पनि सहजै बुझ्छन् । अन्तरपार्टी जनवाद नहुनु भनेको अधिनायकवादी बन्नु हो । अधिनायकवादको शक्ति भनेको भयजनित पार्टी सञ्चालन हो । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक संरचनामै वैधानिकतालाई ठट्टा बनाए । आफ्नै निर्णय उल्ट्याए । भिन्न सोचकालाई थर्काए । भ्रष्टाचारीलाई देखी सहन्न भन्ने घोषणा अर्को ठट्टा बन्यो । लहडी घोषणा कागजमा सीमित रहे । यी सबै कदम भयग्रसित मानसिकताका राजनीतिक आत्मकेन्द्रीकरण र सांगठनिक निरंकुशता हुन् ।

ओली नीतिको जरो भनेकै ‘जो आलोचना गर्छ, उसलाई समाप्त गर । जो भ्रष्ट भएर पनि भक्त हुन्छ, उसलाई संरक्षण गर । सत्ता टिकाउन जोसुकैसँग जेजस्तो सम्झौता गर्नुपरे पनि गर ।’ भ्रष्टाचारमा मुछिएका व्यक्ति चाहे भुटानी शरणार्थी घोटाला, ललिता निवास वा गिरी बन्धु टी इस्टेट सबैका फाइल हराए वा बन्द गर, भन्ने हो । यसैबीच पार्टीभित्र खाँटी समर्थकको गल्ती पनि क्षम्य मानियो । कानुन, अदालत र अर्ध–न्यायिक निकायहरू सरकारी प्रभावको छायाँ बन्न पुगे ।

यस्ता सत्ताप्रवृत्तिलाई एकै शब्दमा बुझ्न गाह्रो हुन्छ । किनभने यो केवल अधिनायकवाद होइन, केवल भ्रष्टाचार होइन, केवल वृद्धसत्ता पनि होइन । यो राजनीतिक हिप्पोक्रेसीको समुच्चय हो — जहाँ नारा ‘जनताको सेवा’ हुन्छ तर नियत सत्ताको संरक्षण र सम्पत्तिको केन्द्रीकरण । यसलाई Neo-authoritarian Klepto-gerontocracy भन्न सकिन्छ । अर्थात् ‘संविधान, कम्युनिज्म र जनताको नाममा चलाइने वृद्ध–सत्ताको नवप्रतिक्रान्तिकारी लुटव्यवस्था । ’

कम्युनिज्मलाई त केवल झण्डा बनाइयो । धार्मिक आस्थालाई राष्ट्रियताको उन्मादमा फेर्ने क्रममा माडीका दशरथ, शिव चाम्लिङ, पशुपतिमा सुनका जलहरी प्रकरण देखापरे । रेल र पानी जहाजको सपना देखाइए । सत्ता गुमाउने डरले थरथराएको नेतृत्व, आलोचकप्रति द्वेष राख्ने मनोवृत्ति, नियम कानुनभन्दा ‘आफ्ना मान्छे’लाई प्राथमिकता दिने प्रवृत्ति समस्या हो । हितअनुसारको पार्टी वा सरकारमा नियम, कानुन अभ्यास ढालेर वैधानिकता दिने चतुर्‍याइँ हो ।

खोसिएका आदर्श, बाँकी पाखण्ड

 तीन शक्तिशाली यथार्थको संगमलाई नियालौँः

१. जेरेन्टोक्रेसी : सत्ता केवल वृद्धहरूको पोल्टामा सीमित हुन्छ । पात्रहरू दशकौंदेखि दोहोरिँदै, तेहरिँदै सत्तामा फर्किरहेका हुन्छन् । नयाँ सोच र अभ्यासप्रति अनिच्छा, अनुभवको नाममा यथास्थितिवादको जाल, युवा पुस्तालाई ‘अनुभवहीनता’का नाममा पछाडिराख्ने प्रवृत्ति छन् ।

२. क्लेप्टोक्रेसी : भ्रष्टाचारको संस्थागत रूप हो । सबै निकायहरू लुटमा संलग्न भएर पनि त्यो प्रणालीलाई लोकतन्त्र भन्ने भ्रम छरिन्छ । सत्तामा पुगेपछि शक्तिशाली नेताले आ–आफ्ना घेरामा अनियमितता संरक्षित गरे– भुटानी शरणार्थीलाई अमेरिका पठाउने नाउँमा नक्कली पीडित खडा गरिए । ललिता निवास जग्गा हिनामिना सत्ता संरक्षित भूमि कब्जा थियो । गिरी बन्धु टी इस्टेट कानुनी अधिकारविहीन जग्गाको शिकार हो । भिजिट भिसाका संगठित मुद्दाको ‘फाइल बन्द’ गरिए, ढाकछोप गर्न सरकारी शक्ति प्रयोग गरियो ।

लोकतान्त्रिक प्रक्रिया समाप्त पार्ने प्रवृत्ति प्रायः सबै पार्टीमा छ । तर, केपी ओलीको नेतृत्वकालमा यो झनै बलियो भयो । अपमानित गरेर, उल्लयाएर अरूलाई होच्याउँदै आफ्नो सार्थकता देखाउनु भनेको हिनताबोधबाट पलाएको भयग्रसित उच्चताबोध हो । हिजोका कठिन दिनमा माले बनाउन अग्रपंक्तिमा रहेकाहरूको निस्तेज पार्न कुनै कसर छोडिएन । प्रतिस्पर्धीलाई रोक्न महाधिवेशन प्रतिनिधि बन्नसमेत नदिइने भयो । ईश्वर पोखरेलजस्ता वरिष्ठ नेतालाई डिमोसन गर्न लागियो ।

भीम रावललाई निष्क्रिय तुल्याउने प्रयास भयो । नेतृत्वको आलोचना गरे सजायँ, भक्ति गरे इनाम पाइने प्रणाली स्थापित गरियो । ‘खाँटी समर्थक’ले गरेका अपराधलाई क्षम्य गरियो । भिन्न मतलाई ‘पार्टीद्रोह’ भन्न थालियो । विरोधीको धारणा कारवाही र बहिष्कारको लक्ष्य बने । यसरी लोकतान्त्रिक स्वतन्त्र सोचमाथि प्रहार भयो ।

कम्युनिष्ट हिप्पोक्रेसी :

कम्युनिष्ट दर्शनले जनताको सत्ता, समताको शासन र वर्गसंघर्षमार्फत न्यायको कुरा गर्छ । तर व्यवहारमा देखिने ‘कम्युनिष्ट नेता’ ले पार्टी र सत्तालाई आफ्नो निजी सम्पत्तिजस्तै प्रयोग गर्छन् । राज्य स्रोत आफ्ना मानिसलाई बाँड्छन् । राज्यद्वारा संरक्षित भ्रष्टाचारलाई वैधता दिन्छन् । कार्यपालिका जनता होइन, ‘हामी’ भनेर चिनिने सानो घेराको छ ।

प्रतिक्रान्तिको स्थायी बन्दोबस्त

क्रान्तिको नारा, संविधानको सौगात र जनताको सपना सबै पुरानो झण्डाको झल्को मात्रै बन्न पुगेको छ । आजको सत्तासीन संरचना कुनै क्रान्तिकारी विरासत होइन तर पुराना अनुहार, पुरानै शैली तर अझ परिष्कृत पाखण्डको अभ्यास हुँदैछ । हामी यस्तो व्यवस्थामा बाँचेका छौं जहाँ विचार ‘पोस्टर’ मा बाँच्छ, युवा ‘कार्यकर्ता’ का रूपमा खुम्चिन्छ, न्याय ‘फाइल’ मा गुम्छ, सत्ता ‘शंका’ मा डराउँछ । तर प्रश्न खुल्लै रहन्छ– हामी लोकतन्त्रको छायाँमा प्रतिक्रान्तिको युगतिर त प्रवेश गरेका छैनौं ?

प्रतिक्रिया दिनुहोस्