२०८२ मंसिर १८

चौतारा अस्पतालमा विशेषज्ञ सेवा दिने गरी स्याटेलाइट क्लिनिक सञ्चालनको सम्झौता

सिन्धुपाल्चोक – चौतारा अस्पताल, सिन्धुपाल्चोकमा अबदेखि नियमित रूपमा स्याटेलाइट क्लिनिकमार्फत विशेषज्ञ सेवा प्रदान गरिने भएको छ। आज एक विशेष समारोहका बीच उक्त कार्यक्रमको औपचारिक सम्झौता सम्पन्न भएको हो।

समारोह चौतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशव राज गिरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. युवानिधि बसौला प्रमुख अतिथिका रूपमा सहभागी थिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारी, व्यवस्थापन समितिका सदस्यहरु श्री धु्र्वलाल श्रेष्ठ, निमेश श्रेष्ठ तथा टेकु अस्पतालका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा हरेक महिनाको दोस्रो र चौथो आइतवार बालरोग, जनरल मेडिसिन, छाला तथा यौन रोग लगायतका विभिन्न विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता गरिएको हो।

यस पहलमार्फत सिन्धुपाल्चोकका नागरिकलाई राजधानीमै मात्र उपलब्ध हुने जटिल तथा विशेष स्वास्थ्य सेवा अब स्थानीय तहमै प्राप्त हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्