चौतारा, सिन्धुपाल्चोक । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति, सिन्धुपाल्चोकले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा जिल्लाका विभिन्न स्थानीय तहबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा मंगलबार चौतारा बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि थिए। कार्यक्रममा संगठनका राष्ट्रिय समिति सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष मैया पौडेल तथा नेकपा (एमाले) जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए।
जिल्लाका १२ वटै स्थानीय तहबाट सामुदायिक विद्यालयतर्फ पालिकागत रूपमा उत्कृष्ट नतिजा ल्याउने १७ जना विद्यार्थीहरू कार्यक्रममा सम्मानित भएका छन्। तिनीहरूमध्ये ४ जना विद्यार्थीले ४.०० जिपिए प्राप्त गरेका थिए।
सम्मानित विद्यार्थीहरूमा चौताराबाट रोजिना स्याङतान, इन्द्रावतीबाट अबिरल श्रेष्ठ, पाँचपोखरीबाट आशिष बम्जन, बलेफीबाट सृष्टी नेपाल, शुभेक्षा श्रेष्ठ र म्हेन्दो लामा, जुगलबाट प्रशान्त चाम्सल र आयुष सापकोटा, सुनकोशीबाट सन्दीप खड्का, मेलम्चीबाट प्रशान्त चालिसे, सबिना थापा र सन्तोष गिरी, लिसंखुबाट फुर्साङ तामाङ, र हेलम्बुबाट गौरव शर्मा रहेका छन्।
कार्यक्रममा दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका मैया पौडेललाई १४औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय समितिमा निर्वाचित भएको अवसरमा बधाई तथा शुभकामना सहित विशेष सम्मान समेत प्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले सम्मानित विद्यार्थीहरूलाई अझ उच्च लक्ष्य निर्धारण गरी अघि बढ्न प्रेरणा प्रदान गरे। साथै, संगठनले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको समेत वक्ताहरूले उच्च प्रशंसा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्