चौतारा, सिन्धुपाल्चोक । सफा, सुन्दर र सभ्य समाज निर्माणको अभियानमा चौताराका महिलाहरूको सक्रिय सहभागिता एक प्रेरणादायी उदाहरण बनेको छ। “महिला मैत्री समाज विकास समूह”को आयोजनामा सम्पन्न सफाइ अभियानले स्थानीय स्तरमै सामाजिक उत्तरदायित्व र सामूहिक चेतनाको सन्देश फैलाएको छ।
सडक, मन्दिर परिसर र सार्वजनिक स्थलहरूमा झाडू, कुचो र झोला बोकेर सहभागी महिलाहरूले वातावरण सफा गर्ने मात्र होइन, ‘स्वच्छता नै संस्कार हो’ भन्ने सशक्त सन्देश सम्पूर्ण समुदायमा फैलाएका छन्। उनीहरूको यो अभियानले स्वेच्छिक सहभागिता, सेवा भावना र समाजप्रतिको दायित्वबोधलाई बलियो बनाएको छ।
घरको सीमाभित्र मात्र सीमित नभई महिलाहरू सार्वजनिक सरोकारका कार्यहरूमा अग्रसर बनेका छन्। सार्वजनिक स्थल, धार्मिक क्षेत्र र टोल टोलको सरसफाइमा उनीहरूको उल्लेखनीय सहभागिताले महिलाहरू सामाजिक रूपान्तरणका मेरुदण्ड हुन् भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।
समूहको नेतृत्वमा गरिएको अभियानले सहकार्य, ऐक्यबद्धता र स्वच्छताप्रतिको सामूहिक चिन्तनलाई उजागर गरेको छ। यस्तो प्रकारको पहलले भावी पुस्तालाई पनि सामाजिक सेवातर्फ अभिप्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्