चौतारा, सिन्धुपाल्चोक ।
चौतारा बहुमुखी क्याम्पसमा गत चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना अझै सम्पन्न हुन सकेको छैन । निर्वाचन सम्पन्न भएको १११ दिन बितिसक्दा पनि मतपेटीका गणना हुन नसक्दा विद्यार्थीहरूले आक्रोश व्यक्त गरेका छन् ।
निर्वाचनको दिन मतदानका क्रममा बाह्य व्यक्ति मतदान गर्न खोजेको भन्दै विवाद उत्पन्न भएपछि क्याम्पस प्रशासनले मतपेटीका शिलबन्दी गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार, मतपेटीका अझै पनि सुरक्षित रूपमा राखिएको छ, तर क्याम्पस प्रशासनले यसबारे कुनै निर्देशन नदिएको जनाएको छ ।
क्याम्पस प्रशासनको लापरवाहीले स्ववियु निर्वाचन अन्योलमा परेको भन्दै विद्यार्थीहरू आक्रोशित छन् । पूर्व स्ववियु सभापति तथा अखिल क्रान्तिकारीका नेता मिलन लामाले क्याम्पस सञ्चालक समिति गैरजिम्मेवार बनेको आरोप लगाउँदै भने, “विद्यार्थीले आफ्नो प्रतिनिधि चुन्न १११ दिनअघि दिएको मत अहिलेसम्म गणना हुन सकेको छैन, जुन अत्यन्त दुःखद् छ । हामी नयाँ मतदान, बाँकी मतदान वा शिलबन्दी मतको गणना जुनसुकै विकल्पमा तयार छौं, तर क्याम्पस प्रशासनको चासो शून्य छ ।”
निर्वाचन प्रक्रिया अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी किरण थापाले सहमतिको प्रयासस्वरूप राजनीतिक दलहरूबीच छलफल गराउने प्रयास गरेका थिए, तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले चेतावनीपूर्ण व्यवहार गरेपछि छलफल अगाडि बढ्न नसकेको विद्यार्थीहरूको आरोप छ ।
क्रान्तिकारी विद्यार्थी संगठनबाट सभापतिका उम्मेद्वार अमृत श्रेष्ठले प्रशासन र निर्वाचन समितिको भूमिकालाई मुख्य दोषी ठहर गरेका छन् । उनले भने, “राजनीतिक स्वार्थका लागि २६९ विद्यार्थीको मतलाई बन्दी बनाएर राख्नु विद्यार्थीको संवैधानिक अधिकारमाथिको प्रहार हो ।”
क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले भने यो purely शैक्षिक नभई राजनीतिक विषय भएकाले दलहरूसँग छलफलपछि मात्र निकास खोजिने बताए । तर चैत ५ यता क्याम्पस सञ्चालक समितिको बैठकसमेत नबसेको अवस्था रहेको छ ।
निर्वाचनका क्रममा क्रान्तिकारी संगठनले नक्कली विद्यार्थीमार्फत मतदान गराउन खोजेको आरोप सत्ता गठबन्धनका विद्यार्थीहरूले लगाएका थिए । त्यसक्रममा एमाले निकट अनेरास्ववियुका सभापति उम्मेदवार सुशील लोप्चन, सचिव उम्मेदवार चीनलाल तामाङ र सदस्य उम्मेदवार तथा पत्रकार प्रमीला विकले मतपेटीका लात्तीले हानेर तोडफोड गरेपछि निर्वाचन प्रक्रिया तत्काल स्थगित गरिएको थियो । घटनामा संलग्न विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिए पनि पछि सहमतिपछि रिहा गरिएको थियो ।
विद्यार्थी संगठनहरूका अनुसार एमाले नेता तथा पूर्व सांसद सुवास कर्माचार्यकै निर्देशनमा मतपेटीका लात्ती हानिएको थियो । क्रान्तिकारी विद्यार्थी संगठनका सुवास गौतमले भने, “७३ प्रतिशत विद्यार्थीले मतदान गरिसके पनि निर्वाचन अनिर्णित हुनु गम्भीर विषय हो । अब पनि निर्वाचन प्रक्रिया सुरु नभए क्याम्पस प्रशासन, सञ्चालक समिति र निर्वाचन समितिविरुद्ध कडा आन्दोलन छेडिनेछ ।”
चौतारा क्याम्पसमा नेपाली कांग्रेस र एमाले निकट विद्यार्थी संगठनहरूको संयुक्त प्यानल र माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) तथा समाजवादी विद्यार्थी संगठनबीच चुनावी प्रतिस्पर्धा भएको थियो । दलगत स्वार्थ र प्रतिष्ठाको लडाइँमा रूपान्तरण भएको स्ववियु निर्वाचन विवादको राजनीतिक सहमति नजुटेसम्म अनिर्णित नै रहने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्