सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिकामा कफी खेती प्रवर्द्धन गर्ने उद्देश्यले ‘कफी बिरुवा वितरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। अरनिको एग्रो फार्मको आयोजनामा र चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रम न्यू अरनिको रिसोर्ट प्रा.लि. परिसरमा असार २४ गते मंगलबार सम्पन्न भएको हो।
कार्यक्रममा नगरभित्रका कृषकहरूलाई गुणस्तरीय कफीका बिरुवा निःशुल्क वितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले कफी खेती जस्तो सम्भावनायुक्त नगदे बालीलाई प्राथमिकतामा राखेर नगरपालिकाले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताए। उनले नगरमा सम्भावना भएका बालीहरूमा लगानी र प्रविधि ल्याएर कृषि व्यवसायलाई अगाडि बढाउन नगरपालिकाले प्राथमिकता दिदै आएको बताए साथै वडा नं १ मा करिब १५ रोपनी क्षेत्रमा कफी खेती गर्ने योजनामा रहेको समेत मेयर सापकोटा बताउँछन्।
कार्यक्रममा सहभागी कृषकहरू पनि उत्साहित छन्। स्थानीय कृषकहरूले कफी खेतीबारे पहिले धेरै जानकारी नभए पनि यस्ता कार्यक्रमले प्रोत्साहन दिएको र बिरुवा पाएपछि आफ्नो बारीमा कफी लगाउने योजना रहेको बताए। सरकार र संघसंस्थाबाट यस्तो सहयोग पाएपछि किसानको मनोबल बढेको छ। बजारको सुनिश्चितता भएमा कफी खेतीबाट राम्रै आम्दानी लिन सकिने कृषकहरूको धारण छ।
कार्यक्रममा नगरका जनप्रतिनिधि, कृषि विज्ञ, स्थानीय अगुवा तथा किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमलाई थप प्रभावकारी र नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्