२०८२ श्रावण १४

“भविष्यका लागि विरुवा” नारासहित वृक्षारोपण तथा विद्यार्थी–शिक्षक सम्मान कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक — “भविष्यका लागि विरुवा” भन्ने मूल नारासहित इन्द्रावती गाउँपालिकामा वृक्षारोपण तथा एसईई २०८१ मा उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

वृक्षारोपण र सम्मान कार्यक्रम इन्द्रावती गाउँपालिका–१० स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय र वडा नं. ९ स्थित श्री सिपातिनधारा माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। उक्त कार्यक्रम बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगर, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय समुदायको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि दुलालले बिग्रँदो वातावरणीय सन्तुलनलाई ध्यानमा राख्दै वृक्षारोपण अभियानलाई साङ्केतिक मात्र नभई व्यवहारिक कार्यका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। साथै, यस्ता कार्यक्रमहरूले वातावरणीय चेतना फैलाउनुका साथै विद्यार्थीहरूमा समाजप्रति उत्तरदायी बन्ने भावना विकास गर्न सहयोग पुग्ने बताउँदै सबैलाई हरियाली संरक्षणमा योगदान दिन अपिल गरे।

कार्यक्रममा एसईई परीक्षा २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि दुलाल सहित उपस्थित अतिथिहरूले सम्मान तथा पुरस्कार प्रदान गरिएका थियो। कार्यक्रममा शिक्षक–शिक्षिकाहरूलाई समेत विशेष सम्मान गरिएको थियो।

स्थानीय तह, विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्यबाट आयोजना गरिएको यो कार्यक्रमले वातावरणीय संवेदनशीलता र शिक्षा क्षेत्रको सम्मानजनक प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको आयोजकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्