२०८२ असार १६
                           

असार १५ माटोको सम्मान कि सामाजिक सञ्जालको देखावटीपन?

साेनिया केसी – असार १५ गते, नेपालको कृषिप्रधान चिनारीसँग गहिरो सम्बन्ध बोकेको दिन। यो दिन अहिले ‘धान दिवस’ को रूपमा राष्ट्रिय पर्वझैँ मनाइन्छ। गाउँदेखि सहरसम्म, मन्त्रीदेखि किशोरसम्म, सबै जना खेतको हिलोमा रमाउँदै, असारे गीतमा झुम्दै, मोबाइलमा तस्बिर कैद गर्दै यो दिनको मज्जा लिइरहेका छन्। तर, के आजको धान दिवस साँच्चै माटोप्रतिको सम्मान हो त?

कि यो केवल सामाजिक सञ्जालको एउटा देखावटी प्रदर्शन मात्र बनेको छ? आज हिलोमा खुसी देखिने अनुहारहरू तस्बिरमा कैद हुन्छन्, तर दशकौँदेखि त्यही माटोमा पसिना बगाइरहेका किसानहरू भने ओझेलमा परेका छन्। खेत अब जीवन धान्ने भूमिभन्दा पनि ‘सामग्री’ (कन्टेन्ट) बनाउने एउटा स्थानजस्तो बन्न पुगेको छ।

राम्रो क्यामेरा, राम्रो लुगा, चिटिक्क परेको खेत, अनि ‘उत्कृष्ट पोज’ — आजको धान दिवस मनाउन यति भए पुग्छ! तर, जुन खेतमा यस्ता तस्बिरहरू खिचिएका छन्, त्यहाँ मल पुगेको छ कि छैन, बीउ पाइएको छ कि छैन, किसानको ऋण तिरियो कि तिरिएन — यसको कुनै चर्चा नै हुँदैन।

कृषि मन्त्रालयका ठूला भनिएका योजनाहरू कागजमै सीमित छन्, किसानहरू भने खेत गोडमेलमै व्यस्त छन्। राजनीतिज्ञहरू गमलामा धान रोपेर फोटो खिच्न हतार गर्छन्, तर वास्तविक खेतका लागि मलको जोहो गर्न सक्दैनन्।

आज खेतको छेउमा मोबाइलको ट्राइपड गाड्ने युवा पुस्ताले भोलि पनि खेतसँग सम्बन्ध कायम राख्छन् त? कि मनोरञ्जनको यो दौडधुपमा माटोसँगको आत्मीयता हराउँदै जान्छ?

धान दिवस एउटा रमाइलोको पर्व बनोस्, तर त्यो चेतनाका साथ। यो माटोको पर्व बनोस्, तर माटोसँग न्याय गर्ने सर्तमा। अब आवश्यक छ: * किसानलाई केन्द्रमा राखेर नीति निर्माण गर्ने। * मल, बीउ, सिँचाइ र सहुलियतपूर्ण ऋणको सुनिश्चितता गर्ने। * कृषिलाई आत्मसम्मान र भविष्यको आधारको रूपमा हेर्ने दृष्टिकोण विकास गर्ने। * फोटो प्रदर्शनभन्दा माथि उठेर नीतिगत परिवर्तनमा जोड दिने चेतना।

हामी हाँस्न सक्छौँ, रमाउन सक्छौँ — त्यो माटोसँग, त्यो हिलोसँग। तर, त्यो रमाइलो तब मात्र सार्थक हुन्छ, जब त्यो माटोले हाम्रो भविष्य फुलाउँछ र देशको मुहार बदल्छ। अन्तमा, आज सबैले आफूलाई सोध्नुपर्ने एउटा गहिरो प्रश्न छ: * “म धान दिवस मनाउँदै छु – तर माटोलाई सम्झँदै छु कि देखाउँदै मात्रै छु?” * “म माटोको सम्मान गर्दै छु, कि माटोको मजाक गरिरहेको छु?” असार १५ को यो पर्वले हामी सबैमा जिम्मेवारीसहितको चेतना जगाओस्। रमाइलो होस् — तर कर्तव्यबोधका साथ!

प्रतिक्रिया दिनुहोस्