साेनिया केसी – “जब हामी आफैंभित्र लुकेको शक्ति पहिचान गर्छौं, तब संसारलाई नयाँ नजरले हेर्न सिकिन्छ।“
म अझै पनि त्यो क्षण सम्झन्छु, जब जीवनका सपनाहरू जिम्मेवारीको ओझले दबिएका थिए। सानैदेखि परिवारका अपेक्षा, समाजका दृष्टिकोण र आफैँप्रतिको अनिश्चितताले मेरो अस्तित्वलाई आकार दिइरहेका थिए। आज जब भन्छु — महिला भएर जन्मिनु आफैँमा एउटा उपलब्धि हो, त्यो महसुस सहजै आएको होइन।
समाजले महिलालाई अझै पनि प्रायः आश्रित पात्र को रूपमा हेर्छ। “के गर्छे?“, “कति कमाउँछे?“ भन्ने प्रश्नहरूले बारम्बार मेरो मूल्य तौलिन्थ्यो। तर मैले आफूलाई ती प्रश्नहरूको जवाफ बन्ने अवसर दिन चाहेँ — यही चाहनाले मलाई आत्मनिर्भर बन्ने यात्रातर्फ डोहो¥यायो।
मेरो आत्मनिर्भरताको यात्रा बीमा क्षेत्रमा सुरु भयो। सुरुका दिनहरू सजिला थिएनन्। अपरिचितहरूसँग संवाद गर्न, विश्वास जित्न, आफ्नो सेवा बुझाउन समय र धैर्यता चाहिन्थ्यो। तर बिस्तारै मैले बुझेँ — म मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने एक उत्तरदायी भूमिकामा छु। भविष्यप्रति असुरक्षित महसुस गरिरहेका मानिसहरूलाई भरोसाको छाता दिनु केवल व्यवसाय होइन, सेवा पनि हो।
पहिलो पटक मैले आफ्नै नाममा तलब बुझेको दिन, मैले महसुस गरेँ — मैले केवल पैसा होइन, आत्मविश्वास कमाएकी थिएँ। त्यो क्षणले मलाई निर्णयको स्वतन्त्रता दियो। आज म आत्मनिर्भर छु, आत्मविश्वासी छु, र अरू महिलाहरूलाई पनि यही यात्रातर्फ प्रेरित गरिरहेकी छु।
समयसँगै मैले नेतृत्व गर्न सिकेँ, संवाद गर्न सिकेँ, र साथ दिन सक्ने भाव सिकेँ। आज म महिलाहरूलाई भन्छु — “आफ्नो सपना सानो नठान। हरेक महिलामा सामर्थ्य छ, उसले केवल आफूलाई विश्वास गर्न सिक्नुपर्छ।“ आत्मनिर्भरता भनेको केवल कमाई होइन, आफूमा भरोसा राख्न सक्ने हैसियत निर्माण गर्नु पनि हो।
जीवनको यात्रा सहज कहाँ थियो र? धेरै पटक आफन्तहरू सोध्थे — “कति व्यस्त! कता दौडिइरहेकी?“, “कस्तो हतार हो?“ कसैको स्वरमा व्यङ्ग्य हुन्थ्यो, कसैकोमा चासो। तर ती सबैको उत्तर मुस्कानमै सीमित हुन्थ्यो। कसलाई थाहा थियो र — म आफ्ना सपना, योजना र लक्ष्य भेट्न दौडिइरहेकी छु भन्ने कुरा!
अझै पनि म दौडिरहेकी छु — तर त्यो दुनियाँलाइ देखाउन होइन, आफ्नै लक्ष्यलाई समयमै दस्तखत गर्न। यही हतार मेरो प्रेरणा हो।
हामी महिलाहरूलाई समाजले अनेकन् सीमाहरू बनाइदिन्छ — कहिले परम्पराको नाममा, कहिले छोरी, बुहारी, श्रीमतीको भूमिकामा। कहिले लाज, डर, इज्जत वा संस्कारको नाममा। तर ती सीमाहरूभित्र थुनिएर बस्ने कि ती सीमालाई चुनौती दिंदै अगाडि बढ्ने — त्यो निर्णय हामी आफैंले गर्नुपर्छ। किनभने हामी आफैं हौं हाम्रो सम्भावनाको सार, हाम्रो यात्राको दिशानिर्देशक।जब हामी आफैंलाई अनुमति दिन्छौं, तब मात्रै संसारले हामीलाई चिन्न थाल्छ।
अझै पनि समाजमा महिला सशक्तीकरणको परिभाषा प्रष्ट रूपमा बुझिएको छैन।धेरैले यसलाई केवल शिक्षासँग जोड्छन्। तर शिक्षा सशक्तीकरणको आधार त हो, तर परिभाषा होइन।सशक्तीकरण तब मात्रै सार्थक हुन्छ, जब महिलाहरू आर्थिक रूपले स्वतन्त्र हुन्छन्, आफ्ना निर्णयहरूमा भाग लिन सक्छन्, र कमाउने हैसियतलाई सम्मानको रूपमा लिइन्छ।
पैसा कमाउनु केवल बाध्यता होइन, आफ्नै आत्मनिर्भरता, आत्मसम्मान र पहिचान बनाउने बाटो हो। म आफैं हुँ मेरो शक्ति — यही मेरो परिचय हो, यही मेरो यात्राको सार हो।
प्रतिक्रिया दिनुहोस्