२०८२ असार १७
                           

नगरपालिकाको अनियमित सम्बन्धि फैलिएका कुराहरू भ्रम छर्ने काम मात्र हो : नगर प्रमुख सापकोटा

चौतारा – चौतारा साँगाचोकगढी नगरपालिकाले १८औँ नगर सभाको दोस्रो बैठक सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। सभामा शिक्षा क्षेत्रका लागि रु. ५ करोड १ लाख ३ हजार ३ सय ८४ विनियोजन गरिएको छ भने प्रत्येक वडाका लागि रु. ८५ लाख बजेट छुट्याइएको छ।

त्यस्तै, स्वास्थ्य क्षेत्रका लागि रु. २ करोड १० लाख ६ हजार ६ सय १६ बजेट विनियोजित भएको छ। त्यस्तै खेलकुद पुर्वाधार ,सहकारी,वातावरण, विपद्  लगायत अन्य शिर्षकमा पनि आवश्यकता र स्रोतका आधारमा बजेट विनियोजन गरिएको छ। नगर प्रमुख तथा नगरसभा अध्यक्ष कृष्णप्रसाद सापकोटाले प्रस्तुत बजेट तथा कार्यक्रम जनसमुदायको सुगम जीवनयापन र वडा स्तरका मागहरू समेट्दै तयार पारिएको बताए।

उनले हाल नगरपालिकाको बारेमा बाहिर आएका केही आरोप र आलोचनाहरू भ्रम फैलाउने प्रयास मात्र भएको उल्लेख गर्दै भने, “सत्य के हो भन्ने कुरा उजागर गर्दै नगरलाई सही दिशातर्फ अघि बढाउनु आवश्यक छ।”

नगर उपप्रमुख सीता थापा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा, वडा अध्यक्षहरू, नगरसभा सदस्यहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको नगरसभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन तथा रोजगारीमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्