२०८२ असार १७
                           

सिन्धुपाल्चोकको सम्भावित विपद् र पूर्वतयारीबारे सांसद सापकोटाद्वारा प्राधिकरण प्रमुखलाई ध्यानाकर्षण

काठमाडौं, – सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद माधव सापकोटाले जिल्लामा सम्भावित मनसुनजन्य विपद् जोखिम र त्यसको पूर्वतयारीबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ध्यानाकर्षण गराएका छन्।

सांसद सापकोटाले आज सिंहदरबारस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रमुख दिनेशप्रसाद भट्टसँग भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्। पत्रमा सिन्धुपाल्चोक जिल्लाको समग्र विपद् जोखिम, तयारी अवस्था र आपतकालीन अवस्थासम्बन्धी उपायहरूबारे १४ बुदे सुझाव तथा माग समावेश गरिएको छ।

पत्रमा विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि समर्पित इकाइ स्थापना, स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई त्रिपाल, टेन्ट, प्लास्टिक, जालीजस्ता राहत सामग्री आपूर्ति, भोटेकोसी नदीमा अर्ली वार्निङ सिस्टमको स्थायीत्व र प्रभावकारी सञ्चालन, नियमित सुरक्षा समन्वय, तथा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग सहकार्य गरी सञ्चार तथा ऊर्जा सेवा अबरुद्ध नहुने व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

यसै क्रममा सुरक्षाकर्मीहरूलाई उद्धार कार्यका लागि आवश्यक उपकरण र साधन सुनिश्चित गर्न, सशस्त्र प्रहरी बललाई सजग राख्न, जोखिमयुक्त सडक सञ्चालनका लागि तयारी अवस्थामा राख्नुपर्ने विषय पनि जोड दिइएको छ।

साथै, विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्न, उनीहरूको आवास तथा खाद्यान्नको व्यवस्था गर्न र बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति जस्ता संवेदनशील समूहका लागि विशेष व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ।

ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल पनि सहभागी थिए। सिन्धुपाल्चोक २०७१ सालको पहिरो, २०७२ को भूकम्प, हेलम्बु मेलम्ची लगायतका क्षेत्रहरूमा पहिरो, बाढी जस्ता विपद् बाट बारम्बार प्रभावित जिल्ला भएकाले पूर्वतयारीमा उच्च प्राथमिकता दिनुपर्ने सांसद सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्