२०८२ असार २०

मेलम्चीको पाटिभन्ज्याङ बस्ती पहिरोको उच्च जोखिममा, चार घर तत्काल सार्नुपर्ने अवस्थामा

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने पाटिभन्ज्याङ बस्ती हालैको पहिरोका कारण उच्च जोखिममा परेको छ। एक सातादेखि निरन्तर पहिरो झरिरहेकाले बस्तीमा खतरा बढ्दै गएको र अहिले करिब चारवटा घर उच्च जोखिममा रहेको हुदा तुरुन्त सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा विश्वराम श्रेष्ठ बताउँछन्।

मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने क्रममा खसेको भूस्खलनले पहिरो सुरु भएको र अहिले अवस्था झनै जटिल बनेको बताइएको छ। वडा अध्यक्ष संजीव तामाङले घटनास्थलको निरीक्षण गर्दै बस्ती संरक्षणका लागि वडाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै, प्रदेशसभा सदस्य कुमारी तामाङले समेत पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। उनको अनुसार ठूलोथकनी निम्न माध्यमिक विद्यालयसमेत पहिरोको जोखिममा परेको छ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार पहिरो हालसम्म पनि बगिरहेको छ। उच्च जोखिममा रहेका दुई घरका बासिन्दालाई सतर्क रहन र आवश्यक परेमा तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

प्राकृतिक प्रकोपको यस्तो अवस्थाले स्थानीयहरू त्रसित छन् भने सम्बन्धित निकायको ध्यानाकर्षण भइरहेको छ। बस्ती जोगाउन र संभावित क्षति न्यूनिकरण गर्न सक्दो पहल भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्