२०८२ असार ५
                           

विद्यालयहरुमा स्कुल बक्सिङको महत्व

                           राजनविक्रम प्रजापति 

नेपालमा मात्र नभई विश्व परिवेशमा नै घट्दो शारीरिक गतिविधि र युवाहरूमाझ बढ्दो मानसिक स्वास्थ्य चुनौतीहरूका कारण मोटोपन लगायत विभिन्न शारिरीक तथा मानसिक समस्याहरुसँग युवा अवस्थामा नै जुध्नु परिरहेको सन्दर्भमा विद्यालहयरुमा खेलकुद शिक्षालाई अनिवार्य गर्नुपर्दछ भन्ने विषयले नेपाली समाजमा ठांउ पाउन थालेको धरै समय नभएता पनि अब भने विलम्ब गर्नु हुंदैन । विद्यालयहरूमा खेलकुद केवल अतिरिक्त क्रियाकलाप मात्र नभई समग्र शिक्षाको आधारभूत अंश हो भनी बुझ्न र बुझाउन ढिलो भैसकेको छ । विद्यालय पाठ्यक्रममा खेलकुदलाई एकीकृत गर्नाले शारीरिक तन्दुरुस्ती मात्र नभई थुप्रै फाइदाहरू रहेका छन्, जसले जीवनमा आउने चुनौतीहरूको लागि तयार रहन सुदृढ व्यक्तिको आकार दिन मद्दत गर्दछ ।

लामो समय देखि विद्यालयहरुमा औपचारिक- अनौपचारिक रुपमा फुटबल, कराते, तेक्वान्दो, टेबलटेनिस लगायतका केहि खेलहरुको नियमित प्रशिक्षण भईरहेको भएतापनि बक्सिङ खेलको भने विधालयहरुमा भर्खरै मात्र प्रशिक्षण शुरु भएको पाईन्छ । । विद्यालयहरुमा बक्सिङ सिकाउनाले शारीरिक तन्दुरुस्ती, मानसिक लचिलोपन, अनुशासन र सम्मानलाई बढावा दिनु पर्दछ भन्ने भावनाको विकास गर्दछ । अन्य कमब्याट खेलहरुजस्तै बक्सिङ पनि आत्मरक्षाको एउटा कलाका साथै पूर्ण रूपमा वैज्ञानिक खेल हो । जसले रिङ भित्र टेकनिक र ट्याकटिसका आधारमा आफ्नो प्रतिपक्षलाई नियन्त्रणमा राख्ने कार्य गर्दछ । बक्सिङ विश्वभर अत्यन्त लोकप्रिय हुनुका साथै ओलम्पिक खेल पनि हो जसको आफ्नो छुट्टै नियम पनि रहेको छ । विश्वमा मात्र नभई नेपालको लोकप्रिय खेलहरू मध्ये पनि बक्सिङ पर्दछ ।

सामान्य रुपमा हेर्दा बक्सिङ खेल मुक्का प्रहार गर्ने र प्रतिद्वन्दीलाई पिट्ने सजिलो खेल जस्तो देखिएता पनि यो शक्ति, सहनशीलता, एकाग्रता, लचिलोपन र अनुशासन विकास गर्ने उत्कृष्ट तरिका हो । एउटा भनाई रहेको छ , कुनै पनि मूर्खले लड्न सक्छ तर धेरै कमले बक्सिङ गर्न सक्छन् किनभने बक्सिङ वैज्ञानिक खेल हो, त्यसैले बक्सिङ खेल्नुहोस् र पूर्णरुपमा आत्मविश्वाशी र फिट रहनुहोस् । अर्को एउटा रोचक कुरा के पनि हो भने बक्सिङ यस्तो खेल हो जसलाई लिएर विश्वमा सबैभन्दा बढी सिनेमाहरु बनेका छन ।

सम्भवतः मानव जातिले प्रतिस्पर्धात्मक शारीरिक लडाईंमा संलग्न हुँदादेखि नै बक्सिङ अस्तित्वमा रहेको हुन सक्छ । प्राचीन सभ्यताहरूको एक आपसमा लड्ने प्रतियोगितादेखि आज हामीले थाहा पाएको औपचारिक खेलसम्म बक्सिङ धेरै विकसित भएको पाईन्छ ।

प्राचीन इजिप्टियन, ग्रीक र रोमन सभ्यतामा सबैले मुक्का खेल्ने शैलीको अभ्यास गर्थे । १७ औं शताब्दीको इङ्गल्याण्डमा यो खेलको पुनरुत्थान देखियो, १८ औं शताब्दीको सुरुमा पहिलो अंग्रेजी बक्सिङ च्याम्पियन मानिने जेम्स फिगले बनाएका नियमहरू सहित व्यवस्थित रुपमा यो खेलको विकास भयो। यद्यपि, आधुनिक बक्सिङको लागि निर्णायक क्षण १८६७ मा क्वीन्सबेरीको मार्क्विस नियमहरूको परिचयसँगै आएको मानिन्छ । यी नियमहरूले बक्सिङ खेलमा क्रान्तिकारी परिवर्तन ल्याए, प्याडेड ग्लोभ्स, राउन्ड, दस-सेकेन्डको नकडाउन गणना अनिवार्य गर्दै, कुस्ती र जुवालाई अमान्य घोषित गरियो। यो परिवर्तनले बक्सिङलाई सुरक्षित र व्यावसायिक बनाउनुका साथै ओलम्पिकमा प्रवेश गराउन पनि मद्दत गरेको देखिन्छ ।

विभिन्न रुपमा अनौचारिक तरिकाले एक अर्काबीच मुक्का बर्साएर प्रतिष्पर्धा हुने गरेको पाईएतापनि औपचारिक रुपमा भने नेपालमा बक्सिङको प्रवेश २० औं शताब्दीको मध्यतिर भएको पाईन्छ । १९६१ तिर स्व. लक्ष्मण शमशेर थापाले कमल पोखरी बक्सिङ क्लब स्थापना गरी नेपालमा पहिलो पटक बक्सिङ खेलाउने संस्थाको औपचारिक स्थापना गरेका थिए । त्यस पछि क्रमश: विभिन्न प्रतियोगिताहरु भएतापनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भने १९६४ को टोकियो ओलम्पिकमा नेपालको ओलम्पिक डेब्यूसँगै भएको थियो । नाम सिंह थापा (फ्लाइवेट), भीम बहादुर थापा (फेदरवेट), राम प्रसाद गुरुङ (लाइटवेट), र ओम प्रसाद पुन (लाइट-वेल्टरवेट) जस्ता नेपाली बक्सरहरूले राष्ट्रको प्रतिनिधित्व गर्दै बक्सिङ खेलमा मात्र नभई समग्र नेपाली खेलकुद इतिहासमा अत्यन्त महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका थिए ।

सुरुवाती दिनदेखि नै नेपालमा बक्सिङको विकास निरन्तर रुपमा हुंदै आएको छ । नेपालमा हुंदै आएको राष्ट्रिय खेलकुदका सबै संस्करणहरूमा बक्सिङ एक मुख्य आकर्षणका रुपमा रहदै आएको छ । नियमित रुपमा राष्ट्रिय प्रतियोगिता हुन सकेको खण्डमा नंया खेलाडीको प्रतिभा पहिचान र विकासमा मद्दत पुग्ने कुरामा कसैको दुईमत नहोला तर पनि विविध कारण देखाई राष्ट्रिय खेलकुद नियमित रुपमा हुन नसकेको सबैलाई जगजाहेर नै छ ।

सर्वसाधारणलाई बक्सिङको बारेमा सोच्दा तत्काल दिमागमा आउने छवि भनेको आक्रामक, झगडालु, तथा हिंसात्मक आदि नकारात्मक धारणा हुन सक्दछ । बास्तवमा बक्सिङ खेलको मुख्य सिद्धान्त अनुरुप यो धारणा गलत हुनसक्दछ । विद्यालयहरुमा स्कूल बक्सिङ कार्यक्रम अनुरुप नियन्त्रित र शैक्षिक वातावरणमा साना र किशोर किशोरी लक्षित भई विशेष किसिमले बक्सिङ सिकाइन्छ । स्कूल बक्सिङ कार्यक्रमहरूले प्रतिस्पर्धात्मक लडाईमा ध्यान केन्द्रित गर्दैनन् बरु चरित्र र आवश्यक जीवन सीपहरू निर्माण गर्ने आधारभूत तत्वहरूमा केन्द्रित गर्नेगर्दछ ।

बाल्यकालको मोटोपना विश्वव्यापी चिन्ताको विषय भएको समयमा बक्सिङले अविश्वसनीय रूपमा गतिशील र पूर्ण शारीरिक कसरत प्रदान गर्दछ । यसले हृदयलाई स्वस्‍थ राख्नुका साथै मांसपेशीको शक्ति बढाउन मद्दत गर्दछ । बक्सिङ खेलका अभ्यासहरू आकर्षक र विविध छन्, जसले युवाहरूका लागि व्यायामलाई रमाइलो र दिगो बनाउँछ । किशोरकिशोरी अवस्थामै बक्सिङ खेलमा सक्रिय सहभागिता जनाउनाले जीवनभर स्वस्थ रहनका लागि आवश्यक बानी ब्यवहार हरूको आधार तयार पार्न सहयोग गर्दछ ।

बक्सिङ एउटा यस्तो खेल हो जसले अत्यधिक अनुशासनको माग गर्दछ । कडा प्रशिक्षण प्रणाली पालना गर्नेदेखि जटिल प्रविधिहरूमा निपुणता हासिल गर्नका लागि खेलाडीहरूले निरन्तर प्रयास गरी सन्तुष्टि प्राप्त गर्दछन् । यसले आत्म-नियन्त्रण सिकाउँछ, आवेगहरूलाई व्यवस्थापन गर्ने क्षमता र दबाबमा शान्त रहन सिकाउंदछ । तीव्र ध्यान, रणनीतिक सोच र तत्काल समस्या समाधान गर्नुपर्ने हुंदा विद्यार्थीहरूले बक्सिङ खेलका माध्यमबाट मानसिक रुपमा पनि स्वस्थ रहन सक्नेछन । विद्यार्थीहरूले विभिन्न क्षमताहरू बढाउँदै, पूर्वानुमान गर्न र छिटो निर्णय लिन सिक्छन् । यसबाहेक बक्सिङले जीवनमा आउने विविध किसिमका निराशाहरुलाई चिर्ने र चुनौतीहरू पार गर्दै मानसिक रुपमा बलियो बनाउन सहयोग गर्दछ ।

बक्सिङले आमाबुवा, विधालयका गुरु, प्रशिक्षक, प्रतिद्वन्दी साथी, अग्रजका साथसाथै आफैप्रति पनि सम्मानको गहिरो भावना जगाउँदछ । विद्यार्थीहरूले खेलकुद भावना, निष्पक्ष खेलको महत्त्व र पारस्परिक प्रयासको मूल्यको बारेमा सिक्छन् । सिक्नको लागि सधै धेरै कुराहरू हुन्छन् र जिवनमा सबैभन्दा कुशल व्यक्तिहरूलाई पनि चुनौती दिन सकिन्छ भन्ने आत्मविश्वास जागृत गराउने कार्य पनि अरु कम्ब्याट खेलले जस्तै बक्सिङले पनि गर्दछ । बक्सिङ खेलले सफलता र व्यक्तिगत उपलब्धिको लागि पनि ठूलो अवसर दिने गर्दछ । नेपाली अग्रज बक्सरहरूले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद लगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउनुका साथै उत्साहजनक सफलता समेत हासिल गर्दै देशको नाम उँचो राख्दै आएका छन् ।

यति हुंदाहुदै विद्यालयहरूमा बक्सिङको बारेमा कुरा उठान हुंदा विद्यालयका खेलाडिहरुको सुरक्षाको विषय प्रथम दृष्टिमै उठ्ने गर्दछ । यी चिन्ता र बहस पनि अस्वाभिक पक्कै होईन । सबै अभिभावकलाई आफ्ना केटाकेटीको माया लागि हाल्दछ तर चाहिने भन्दा बढी माया गरी कुनै शारीरिक परिश्रम नै गर्न नदिनु भनेको माया भन्दा पनि कालान्तरमा उसलाई त्यो सजाय दिईएको ठहर्दछ । यसतर्फ अभिभावक र विद्यालय परिवार बेलैमा सचेत हुनु पर्ने देखिन्छ ।

खेलाडीको उमेर लगायत शारीरिक क्षमतालाई मध्य नजर गर्दै स्कुल बक्सिङमा प्रशिक्षकले विशेष ढंगबाट गैर-सम्पर्क प्रशिक्षणमा जोड दिने गर्दछन । स्कूल बक्सिङ कार्यक्रमहरू मुख्यतया स्याडो बक्सिङ, ब्याग वर्क , प्याड वर्क र फुटवर्क लगायतका गैर-सम्पर्क अभ्यासहरूमा केन्द्रित हुने गर्दछ । प्रतिस्पर्धात्मक फाईट भन्दा पनि टेक्निक, ट्याकटिक्स, फिटनेस र अनुशासनमा जोड दिइने गरिन्छ । युवा विकास र सुरक्षा प्रोटोकलहरूको राम्रो बुझाइ भएका अनुभवी प्रशिक्षकहरूले उचित प्रविधि र चोटपटक रोकथामलाई प्राथमिकता राखी प्रशिक्षण र पर्यवेक्षण गर्ने हुंदा स्कूल बक्सिङ एकदमै राम्रो मानिन्छ ।

समग्र शारीरिक विकास, मानसिक रुपमा स्वस्थ र बलियो रहन, अनुशासन र समयनिष्ठ रहन, आफ्ना विपक्षीहरुलाई समेत सम्मान गर्न सिकाउनका साथै उनीहरुको समग्र शैक्षिक जिवनलाई नै उन्नयन गर्न सहयोग पुर्याउने भएको हुंदा सरोकारवाला सबैले बक्सिङलाई विधालयहरुमा पनि सिकाउने वातावरण मिलाउंदै जानुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्