सिन्धुपाल्चोक – बाह्रबिसेमा निर्माणको तयारीमा रहेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन्। परियोजनाबाट दीर्घकालीन रूपमा वातावरण, भू–संरचना तथा सामाजिक–आर्थिक जीवनशैलीमा गम्भीर असर पर्ने भन्दै उनीहरूले सशक्त विरोध जनाएका हुन्।
आईतबार ‘गो ब्याक कालिका हाइड्रो’ लेखिएको कालो झन्डासहित प्रदर्शनकारीहरूले बाह्रबिसे बजार परिक्रमा गर्दै विरोध र्याली निकालेका छन्। मानेश्वारा, राम्चेल लगायतका क्षेत्रका बासिन्दा सडकमा ओर्लिएर आयोजना तत्काल रोक्न माग गरेका छन्।
यसै सन्दर्भमा नगरपालिकाको कभर्ड हलमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम समेत स्थानीय आक्रोशका कारण अवरुद्ध हुन पुगेको छ। आक्रोशित प्रदर्शनकारीहरूले सुनुवाइ स्थलमा प्रवेश गरी नाराबाजी गर्दै कुर्सीसमेत तोडफोड गरेका थिए।
भोटेकोशी–५ आयोजनाको पावर हाउस जुरे क्षेत्रमा पर्ने जनाइएको छ। मध्यभोटेकोशी आयोजनाबाट निस्कने पानीलाई सुरुङमार्फत प्रयोग गरेर निर्माण गरिने भनिएको यो आयोजनाले स्थानीय भू–स्वरूप, नदी प्रणाली तथा जैविक सन्तुलनमा असर पार्ने स्थानीयको चिन्ता छ।
स्थानीय अगुवा राजु श्रेष्ठले भने, “यो आयोजना विकास होइन, विनाशको खाडल हो”। यहाँको माटो, पानी र प्रकृति सबै संकटमा पर्छन्। अब हाम्रो माग स्पष्ट छ—यहाँ जलविद्युत् होइन, वातावरणमैत्री दीगो योजना चाहिन्छ।”
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) अन्तर्गत सार्वजनिक सुनुवाइको प्रक्रिया अघि बढाइँदै गर्दा विरोध थप चर्किएको हो।
वातावरण विदहरूका अनुसार, स्थानीय सहभागिता र पर्यावरणीय सन्तुलनलाई बेवास्ता गर्दै अगाडि बढाइएका यस्ता परियोजनाले दीर्घकालमा सामाजिक द्वन्द्व र प्राकृतिक विनाश निम्त्याउन सक्छन्। बाह्रबिसेमा उठेको आवाज त्यही सन्देशको संकेत हो।
समाचारको स्रोत : इ कान्तिपुर
प्रतिक्रिया दिनुहोस्